चकलेटमा प्लास्टिक फेला परेपछि मार्स ले ५५ देशबाट आफ्नो चकलेट फिर्ता लिदैं

चकलेट निर्माणकर्ता कम्पनी मार्स ले ५५ देशबाट आफ्नो चकलेट फिर्ता लिदैंछ । यो कम्पनीले विश्व चकलेट बजारमा आफ्नो प्रभाव जमाउँदै आएको छ ।
समाचार एजेन्सीहरुका अनुसार जर्मनीका एक व्यक्तिले मार्सको स्नीकर बार चकलेटमा प्लास्टिकको अंश पाएको गुनासो गरेपछि कम्पनीले यस्तो निर्णय लिएको हो । ती व्यक्तिले गत महिना कम्पनी समक्ष गुनासो गरेको बताइएको छ ।
छानविनपछि उक्त कम्पनीको नेदरल्याण्डस्थित प्लान्टमा उत्पादन भएको चकलेटमा कैफियत पाइएको हो । त्यसैले उक्त प्लान्टमा उत्पादन भई बजारमा पुगेका चकलेटहरु कम्पनीले फिर्ता लिन लागेको हो ।
कम्पनीका प्रवक्ताले भने, हामी ती उत्पादनलाई मात्र फिर्ता लिदैंछौं, जो नेदरल्याण्डको प्लान्टमा उत्पादन गरिएको थियो ।
चकलेट फिर्ता लिइने मुलुकमध्ये अधिकांश युरोपेली रहेको बताइएको छ । फिर्ता लिइने चकलेटको परिमाण वा मूल्यका बारेमा कम्पनीले केही बताएको छैन । यद्यपि सावधानी अपनाउनका लागि चकलेट फिर्ता लिन लागेको उसले जनाएको छ । (एजेन्सी)