सिरियामा अस्थायी युद्ध विराम लागु भएको छ । अमेरिकासहितका शक्ति राष्ट्रको पहलमा सिरियामा अस्थायी युद्ध विराम लागु भएको हो ।
युद्ध विरामको पालना गर्दै हिंसात्मक आक्रमण रोकिए सिरियामा गत पाँच वर्षदेखि चलिरहेको संघर्ष पहिलो पटक रोकिने छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्व समुदायले निगरानी गरिरहेकाले अस्थायी युद्ध विरामको उल्लंघन नगर्न सिरिया सरकार र रुसलाई चेतावनी दिएका छन् ।
रुसी लडाकु विमानले शुक्रबार सिरियामा हवाई आक्रमण तीब्र पारेको थियो । सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफान डी मिस्टुराले युद्ध विराम प्रभावकारी भए सोमबारदेखि सिरिया सरकार र विपक्षीबीच शान्तिवार्ता सुरु हुने पनि बताएका छन् ।
युद्ध विराम लागु हुनेमा आशंका रहेको तर कुनै पनि कुरा असम्भव नहुने भएकाले आशावादी रहन उनको भनाई छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अमेरिका र रुसको मध्यस्थतामा अस्थायी युद्ध विरामको प्रस्ताव तयार गरेको हो ।
यो प्रस्ताव अनुसार सबै पक्षले मानवीय सहायता आवश्यक परेको क्षेत्रसम्म पुर्याउन दिनेछन् । प्रस्तावमा सिरिया सरकार र विपक्षी समूह राजी भएका छन् ।
तर इस्लामिक अतिवादी समूह आईएस र अलकायदा सम्बद्ध नुसरा फ्रन्ट भने यसमा संलग्न भएका छैनन् । उच्चस्तरीय वार्ता कमिटीमा रहेका एक सयभन्दा बढी विपक्षी समूहले भने प्रस्तावमा सहमति जनाएका छन् ।
सिरियामा गत पाँच वर्षदेखिको हिंसात्मक संघर्षमा परी दुई लाख ५० हजार भन्दा बढी मारिइसकेका छन् भने १० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । (एजेन्सी)