इराकको राजधानी बग्दादमा गराइएको बम विस्फोटमा ७० जना मारिए

 इराकको राजधानी बग्दादमा गराइएको बम विस्फोटमा ७० जना मारिएका छन् ।
शिया मुसलमानको बसोबास रहेको बग्दादको सदर सिटी क्षेत्रमा इस्लामिक अतिवादी संगठन आईएसका आक्रमणकारीले आत्मघाती विस्फोट गराएका हुन् । आत्मघाती आक्रमणकारीले सदर सिटीको व्यस्त बजारमा गएर आफैँलाई विस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विस्फोटमा ५० जना घाइते भएका छन् । यो आक्रमण इराकमा पछिल्लो समय भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । सुन्नी मुसलमानको बाहुल्यता रहेको आईएसले शिया समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
आईएसले इराकको उत्तरी क्षेत्रको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ । (एजेन्सी)