नेवाः पत्रकारको अधिवेशन चैत ६ गते

भक्तपुर नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको जिल्ला अधिवेशन चैत ६ गते हुने भएको छ । 
पत्रकार तथा संचारकर्मीहरुको पेशागत हकहितको लागि काम गर्दै आएको दबूको सोमबार बसेको अधिवेशन तयारी भेलाले सो मिति घोषणा गरेको हो । 
भक्तपुरको क्षयरोग निवारण संस्थाको हलमा सम्पन्न भेलामा सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा अधिवेशन तयारीमा केन्द्रीत गरी छलफल भएको संस्थाका अध्यक्ष केके मानन्धरले जानकारी दिनुभयो । भेलामा संस्थाले गरेका कामकारबाहीलाई मूल्यांकन गर्दै आगामी दिनको योजना समेत तर्जुमा गरेको उहाँले बताउनुभयो । 
एक फरक सन्दर्भमा थेम्मृङ मासिकका प्रकाशक बाबुकाजी साःछेँ श्रेष्ठले व्यावसायिक पत्रकारको बर्गिकरण गराउने सवालमा दबूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । ‘श्रमजीवी पत्रकार ऐन लागु गर्नु जायज छ । कतिपय अवस्थामा अल्पकालीन रुपमा संचार क्षेत्रमा आवद्ध हुनेलाई पनि ठाउँ राख्न सके सुनमा सुगन्ध हुन्छ । यस्ता अल्पकालीन संचारकर्मीको इच्छालाई समेत ऐनले सम्बोधन गर्न सक्नुपर्दछ ।’ प्रकाशक श्रेष्ठको भनाई थियो । पूर्णकालीन पत्रकारको लागि श्रमजीवी ऐन तथा अल्पकालीन संचारकर्मीलाई सोही बमोजिम पारिश्रमिकको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । हुन पनि श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनमा समस्या देखिएको पक्का छ । 
संचार क्षेत्रमा अल्पकालीन संचारकर्मीको मुद्दालाई समेत सम्बोधन हुने खालको ऐन अहिलेको आवश्यकता देखिन्छ । त्यस्तै, जनसंचार रेडियोका स्टेशन म्यानेजर सुरेश साँय्जुले पत्रकार तथा संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरुको विषयमा विस्तृत छलफल हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय तथा स्थानिय संचारगृहमा आबद्ध नेवाः पत्रकार तथा संचारकर्मीहरुको उपस्थितिमा अधिवेशन तयारी भेला सम्पन्न भएको छ । भेलामा नागरिक दैनिकका कृष्ण किसी, नमस्ते टेलिभिजनका ऋषिकेश श्रेष्ठ, हाम्रो च्यानलका राजु मानन्धर तथा राजाराम नापित, कान्तिपुर दैनिकका पृथ्वीराम श्रेष्ठ, भक्तपुर एफ. एमका सिमान्त शिल्पकार तथा रमिता त्वाय्नाबासु, थिमि टाइम्स साप्ताहिका सम्पादक दिपक श्रेष्ठ लगायतको सहभागिता थियो ।