उत्तर कोरियाली नेताद्धारा परमाणु हतियार जुनसूकै बेला प्रयोग गर्नसक्ने गरी तयार रहन निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बताएका छन् । उनले उत्तर कोरियाली सेनाका अधिकारीहरुसँग कुरा गर्दै परमाणु हमलाका लागि तयार रहनुपर्ने बताए ।
अमेरिकालगायत विरोधी देशहरुले उत्तर कोरियाको अस्तित्वलाई धम्की दिइरहेको दाबी गर्दै उनले आफूहरुको सम्प्रभूताको रक्षाका लागि परमाणु क्षमतामा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिले जटिल परिस्थिति सिर्जना भइरहेको उनको भनाई थियो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उनको यो अभिव्यक्ति सार्वजनिक भएको कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ । सुरक्षा परिषद्ले परिमाणु परीक्षण र मिसाइल प्रक्षेपण गरेको भन्दै उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाएको थियो । त्यसलगत्तै उत्तर कोरियाले ६ वटा कम दुरीमा मार हान्ने मिसाइल प्रक्षेपण गरेको थियो ।
किम जोङ उनको अभिव्यक्तिप्रति अमेरिकाले प्रतिक्रिया जनाएको छ । पेन्टागनका प्रवक्ता कमान्डर बिल अर्वानले उत्तेजक कामहरु नगर्न कोरियालाई आग्रह गर्दै आफूहरु उत्तर कोरियाको भनाईप्रति भन्दा अन्तर्राष्ट्रिय दायित्वमा केन्द्रीत रहने बताए । (एजेन्सी)