उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासविरुद्ध अन्धाधुन्ध आणविक आक्रमण गर्ने धम्की दिएको छ ।
प्योङयाङले विज्ञप्ति जारी गरी ‘न्यायका लागि प्रारम्भिक आणविक आक्रमण’का लागि आदेश दिइएको उल्लेख छ । उत्तर कोरियाले अमेरिका-दक्षिण कोरियाको सैन्य अभ्यासलाई हस्तक्षेपका लागि पूर्वाभ्यास ठानेको छ । अहिलेसम्म कै ठूलो मानिएको वार्षिक सैन्य अभ्यासमा ३ लाख भन्दा बढी सैनिक सहभागि हुने बताइएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्योङयाङको दूस्साहसपूर्ण कुनै पनि कार्यले उसलाई नै नोक्सान पुर्याउने चेतावनी दिएको छ । रक्षा प्रवक्ता मुन साङ ग्युनले उत्तर कोरियाले आफूहरुको चेतावनीलाई वेवास्ता गरेर उत्तेजना फैलाउने कार्य गरे दक्षिण कोरियाली सेनाले यसको कडा जवाफ दिने बताएका छन् ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको केही दिनपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास शुरु गर्न लागेका हुन् । उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परीक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो छ ।
नाकाबन्दीको विरोधमा उत्तर कोरियाले आणविक हतियार प्रयोगका लागि तयार भएको धम्की दिँदै आएको छ । (एजेन्सी)