फाइल तस्बिर
वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कमा एक रोपनी जग्गाको मूल्य ५ करोड रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । रेमिट्यान्सकै कारण जग्गाको मूल्य बर्सेनि बढ्दै गएको जानकार बताउँछन् । सदरमुकामको सन्धिखर्क मेनरोड, बैंकरोड, चुत्राबेंसी, हललाइन, बसपार्क, शान्ति बगैंचालगायत मुख्य चोक लाइनमा घडेरी सकिएपछि खेतीयोग्य जमिन प्लटिङ हुँदै आएको छ ।
खेत, डाँडाकाँडासमेत प्लटिङ भएपछि सदरमुकामको सुन्दरता गुम्दै गएको छ । बगैंचादेखि हस्पिटल लाइनसम्मको खेतको फाँट धेरैजसो प्लटिङ भइसकेको छ । ‘सरकारी दररेटमा मेनरोडको रोपनीको १ करोड ७३ लाख मूल्य छ,’ मालपोत अधिकृत लोककुमार कार्कीले भने, ‘बाहिर ५ गुना बढी ५ करोडमा कारोबार भइरहेको छ ।’ मालपोल थैलीको ४ प्रतिशतको हिसाबले जग्गा कर तिर्नुपर्छ । १ करोड मूल्यको जग्गा कारोबार भए ४ लाख र ५ करोडको भए २० लाख कर तिर्नुपर्छ तर जग्गा किनबेच गर्नेले बाहिर ५ करोडको कारोबार गर्ने तर सरकारी दररेटमा एक करोडको कारोबार भएको देखाउने गरेको उनले बताए ।
फाइल तस्बिर
यसै वर्ष शान्ति बगैंचामुनिको करिब ५ हेक्टर खेतीयोग्य जमिन प्लटिङ भयो । खोल्साखाल्सी र खेत कौडीको भाउमा किनेर सम्याएपछि जग्गा कारोबारीले महँगोमा बेच्ने गर्छन् ।
फाइल तस्बिर
जिल्लाभरमा घरैपिच्छे युवा विदेसिएका छन् । उनीहरूबाट बर्सेनि अर्बौं रेमिट्यान्स भित्रिन्छ । ‘घडेरी किन्छन् र घर बनाएर परिवार सुविधा खोज्दै गाउँको खेतबारी बाँझै छाडेर सदरमुकाम झर्छन्,’ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसालले भने, ‘सहरमा बस्ने लहर चलेकाले जग्गा महँगिएको हो ।’ विदेश नजाँदै परिवार सहरमा डेरा गरी बस्ने ८० प्रतिशत छन् । त्यसमध्ये आधाजसोलाई विदेशको कमाइले परिवारलाई मासिक खर्च मात्रै पुर्याउन ठिक्क हुन्छ ।