अमेरिकाद्धारा उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना एक नागरिकको रिहाई माग

अमेरिकाले उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना एक नागरिकको रिहाई माग गरेको छ । उत्तर कोरियाले कथित रुपमा आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोपमा एक अमेरिकी छात्रलाई सश्रम १५ वर्ष जेल सजाय तोकेलगत्तै अमेरिकाले उनको रिहाई माग गरेको हो ।
२१ वर्षीय ओटो वामवियरलाई गत जनवरीमा प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । एक राजनीतिक प्रचारको स्लोगन चोर्ने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको उत्तर कोरियाली अधिकारीहरुको भनाई छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस का प्रवक्ताले उत्तर कोरियामाथि आफ्नो राजनीतिक एजेण्डाका लागि अमेरिकी नागरिकलाई ढालको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । प्रवक्त जश अर्नेस्टले भने, हामीले उत्तर कोरिया सरकारसँग ओटोको रिहाईका लागि माग गरेका छौं ।
उत्तर कोरियाली संचारमाध्यमका अनुसार उनलाई उत्तर कोरियाविरुद्ध अपराध गरेकोमा दोषी पाइएको छ ।
ओटो भर्जिनिया विश्वविद्यालयका छात्र हुन् । २ जनवरीमा उनी अमेरिका फर्कने क्रममा प्योङयाङको विमानस्थलमा पुग्दा उत्तर कोरियाली सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए । उनीमाथि तत्काल शत्रुतापूर्ण व्यवहारको आरोप लगाइएको थियो ।
पछि उनले उत्तर कोरियाको सरकारी टेलिभिजनमा अपराध स्वीकार गरेको दृष्य देखाइएको थियो । उनले भनेका थिए, मलाई एउटा चर्चको समूहले आफ्नो यात्राका क्रममा भेटिने अविस्मरणीय चीज ल्याउन भनेको थियो ।
गत फेब्रुअरीमा पत्रकार सम्मेलनमा रुँदै उनले भनेका थिए, मैले एउटा होटलबाट राजनीतिक स्लोगन आफ्नो डायरीमा उतार्ने प्रयास गरेको थिएँ, तर मेरो जीवनकै त्यो सबैभन्दा ठूलो गल्ती थियो । (एजेन्सी)