आप्रवासी संकट समाधान गर्न यूरोपेली यूनियन र टर्कीबीच भएको सम्झौता औपचारिक रुपमा लागू

युरोपमा बढ्दो आप्रवासी संकट समाधान गर्न यूरोपेली यूनियन र टर्कीबीच भएको सम्झौता औपचारिक रुपमा लागू भएको छ ।
सम्झौता अनुसार आप्रवासीका लागि आवेदन नदिएका वा आवेदन अस्वीकृत भई ग्रीस पुगेकाहरुलाई टर्की फिर्ता पठाइने छ । यस्तै टर्की फिर्ता पठाइने प्रत्येक सिरियाली आप्रवासीलाई टर्कीमा पहिल्यैदेखि रहँदै आएका उनीहरुका परिवारको आधारमा यूरोपेली मुलुकमा पुनर्वासको व्यवस्था मिलाईने छ ।
यद्यपी टर्कीमा कसरी आप्रवासी फिर्ता पठाउने भन्ने अन्योलका कारण सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरिएको छ । ग्रीसले तत्काल सम्झौता कार्यान्वयन गर्न नसकिने संकेत गरेको छ । तर ग्रीसको लेस्बोस टापुमा आएका आप्रवासीलाई स्वयंसेवकहरुले सहयोग शुरु गरेका छन् ।
सन् २०१५ को जनवरी यता १० लाख आप्रवासी र शरणार्थीहरु डुंगाबाट टर्की हुंदै ग्रीस पुगेका छन् । करीब १ लाख ५० हजार आप्रवासी यो वर्ष भित्र यूरोप प्रवेश गरिसकेका छन् भने यात्राका क्रममा ४ सय ६० जनाको मृत्यु भएको छ । (एजेन्सी)