म्यानमारका नवनियुक्त राष्ट्रपति टिन क्यवद्वारा पदको सपथ

म्यानमारका नवनियुक्त राष्ट्रपति टिन क्यवले बुधबार आफ्नो पदको सपथ लिएका छन् । बुधबार राजधानी नेपित्वमा विशेष कार्यक्रमका साथ उनलाई सपथ गराइएको हो ।
प्रजातन्त्रवादी नेत्री आङ सान सुुकीको प्रमुख सहयोगीका रुपमा रहेका उनी लामो समयपछि म्यानमारको नागरिक सरकारको नेतृत्वकर्ताका रुपमा आएका हुन् ।
म्यानमारमा प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गरेकी ७० वर्षीया नेत्री सुकीलाई म्यानमारको वर्तमान संविधानले राष्ट्रपति बन्न प्रतिबन्धित गरेको छ ।
गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्रेसी विजयी भएपछि पाँच दशक यता सो मुलुकले पहिलो पटक गैर सैनिक राष्ट्रपति पाएको हो ।
नयाँ मन्त्रिपरिषदमा सुकीले विदेश मन्त्रालयका अतिरिक्त राष्ट्रपति कार्यालय, शिक्षा र उर्जा तथा विद्युत मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।
यद्यपि रक्षा, गृह र सीमा सुरक्षा लगायतका महत्वपूर्ण मन्त्रालयमा भने अझै पनि सेना कै कब्जा रहने भएको छ । (एजेन्सी)