अब हंसपुर – गोखुंगा हुँदै प्यूठानसम्म जोडियो सडक ! अर्घाखाँची – प्यूठानलाई मितेरी सम्बन्धको रुपमा विकास गर्न जोड


सडक निर्माणमा अर्घाखाँची जिविस, हंसपुर र गोखुंगा गाविसको गरी १३ लाख २२ हजार २ सय ४२ रुपैयाँ लगानी भएको र २ लाख ६२ हजार २ सय ४२ रुपैयाँ ऋण रहेको छ । मोटरबाटो मिति ०७२ चैत्र १८ गते उद्घाटन भएकोछ । उक्त मोटरबाटोको उद्घाटन अर्घाखाँची हंसपुर ३ मा जिविस, अ. खा. का कार्यक्रम अधिकृत तथा निमित्त स्थानीय विकास अधिकारी  हरिश्चन्द्र भुसालले तथा प्यठान बिड्डाँडा फेदीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापा एवं प्युठान क्षेत्र नं. २  सांसद हिरा बहादुर के. सी. ले संयुक्त रुपमा गर्नुभएको थियो । दुबै तर्फबाट आएका गाडीहरु तथा हर्ष विभोर स्थानीय जनसमुदायहरुको भेला गोखुंगा ८ कालुकादीपमा भै सभामा परिणत भएको थियो । कार्यक्रमलाई सूर्य थापा, हिराबहादुर के. सी., राष्ट्रिय दलित आयोगका  सदस्य बेगमबहादुर वि.क., प्युठान एमाले अध्यक्ष तुल्सीराम शर्मा, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एमाले अर्घाखाँचीका नेता नरेन्द्रकुमार क्षत्राी, नेका अ.खा.का पूर्व सचिव लोकेन्द्र विश्वकर्मा, एमाले अ. खा.  सचिव रामहादुर चौहान, राजमो प्रतिनिधि डिलबहादुर खत्री, निमित्त स्था. वि. अ. हरिश्चन्द्र भुसाल तथा बिड्डाँडाका स्थानीय समाजसेवी इमान सिंह के.सी. ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम उक्त मोटरबाटो उ. स. का अध्यक्ष दिनामणि पन्थीको अध्यक्षता, कृष्ण पौडेलको संचालन तथा गिरि पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको हंसपुर ३ कमेरेपानी बाघखोरदेखि लुंगचुंग, कालुकादीप, बिड्डाँडा हुँदै बिड्डाँडा फेदी र  गोखुंगा हुँदै प्यूठानको बांगेमरोठ सौतामारे-विड्डाँडा जोड्ने साढे आठ किलोमिटर सडक निर्माण कार्य पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा र प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा बहादुर के.सी.ले संयूक्त रुपमा उद्घाटन गरेका हुन् । दुवै जिल्लाको संगमस्थल अर्घाखाँची गोखुंगाको कालुकादिपमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथी थापाले बाटोको थप स्तरोन्नतीका लागि आफूले सक्दो पहल गर्ने बताए ।
दुवै जिल्ला जोड्ने सडकलाई मितेरी सम्बन्धको रुपमा विकास गर्नुपर्छ,उनले भने, सडक पुगेर मात्र गाउँको विकास हुँदैन । गाउँमा स्थानीय बस्तुहरुको उत्पादन गरि निकासी गर्नतर्फ समेत जोड गर्नुस् । विकासको मुुद्दामा सवै राजनीतिक दलले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।
ऋणमै भएपनि दुवै जिल्लाका उपभोक्ताहरुले यसवर्ष सडक निर्माणको काम पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष इमानसिंह के.सी.ले बताए । आर्थिक वर्ष २०६८-०६९ देखि सडक निर्माणको काम थालिएको बताउँदै उनले ऋण तिर्नका लागि सम्वन्धित निकायबाट सहयोग हुनुपर्नेमा आग्रह गरे ।
वर्षौदेखिको गाउँमा गाडी गुडाउने सपना पुरा भएको छ,उनले भने, ऋणै ऋणमा भएपनि बाटो पुरा गरेका छौँ । सडक निर्माणको काम थाल्दादेखि हालसम्म ३२ लाख १२ हजार ६ सय ५० रुपैयाँ खर्च भएको उनले जानकारी गराए । ६ लाख ७२ हजार ५ सय रुपैयाँ ऋण रहेको उनले बताए । सडक निर्माणका लागि गाउँलेले ६ लाख १९ हजार ५ सय ३० रुपैयाँ बरावरको जनश्रमदान गरेका छन् ।
गाविस, जिविस, प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा वहादुर के.सी.र सांसद् दुर्गा पौडेलको सांसद् विकास कोष मार्फत सडक निर्माणमा सहयोग भएको उपभोक्ता समितिका सचिव श्रवण के.सी.ले बताए । सौतामारे फेदी-रागामारे हुँदै अर्घाखाँचीको गोखुंगा पुग्नका लागि २५ किलोमिटरको घुमाउरो सडक साढे ८ किलोमिटरमै सिमित भएको उनको भनाई छ ।
यस्तै, अर्घाखाँची जिविस, हंसपुर र गोखुंगा गाविसको गरी १३ लाख २२ हजार २ सय ४२ रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दिनामणी पन्थीले जानकारी गराए । २ लाख ६२ हजार २ सय ४२ रुपैयाँ ऋण रहेको उनले बताए ।
सडक निर्माण गर्दा लागेको ऋण पुरा गर्न आफूले सक्दो प्रयास गर्ने कार्यक्रमका विशेष अतिथी एवं प्यूठान क्षेत्र नं २ का सांसद् हिरा बहादुर के.सी.ले प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षमा पनि यस सडकलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्ने समेत उनले जानकारी गराए ।

समाचार: केशर रोका, तुल्सिपुरअन्लाईन, प्यूठानबाट
तस्बिर: नविन के.सी बाट

अन्य समाचारहरु