भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा कार्यकर्ताहरुले एकै दिन खुशी र शोक मनाएका छन् ।
पार्टीको ३६ औं स्थापना दिवसका अवसरमा बुधबार भाजपाका नेता-कार्यकर्ताहरुले देशब्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर खुशी मनाएका थिए । तर सोही दिन साँझ भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानीकी पत्नी कमला आडवानीको निधनले सो पार्टीका नेता-कार्यकर्ता शोकाकुल भए ।
हृदयघातका कारण कमला आडवानीको बुधबार साँझ निधन भएको हो । हृदयघात भए लगत्तै उनलाई उपचारका लागि एम्स अस्पताल लगिएको थियो । केहीबेर मै उनलाई मृत घोषित गरिएको थियो ।
सन् १९६५ मा लालकृष्ण आडवानीसँग उनको विवाह भएको थियो । आडवानी दम्पत्तीका एक छोरा र एक छोरी छन् ।
कमला आडवानीको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, उहाँ लालकृष्ण आडवानीको शक्ति हुनुहुन्थ्यो, ईश्वरले उहाँको आत्मालाई शान्ति दियोस् । (एजेन्सी)