अस्थायी आबासमा गुजारा गर्दै आएका धादिङका भुकम्पपीडितहरुलाई डढोलोले पानीका मूल सुक्न थालेपछि अर्को समस्या थपिएको छ । भूकम्प पछि सुक्न थालेका केही गाविसका मुहानहरु लामो खडेरीलगत्तै जंगलमा लागेको डढेलोले झनै सुकेका छन् । कान्तिपुरमा समाचार छ ।
जिविस र गाविसका काम कारबाहीबारे सार्वजनिक सुनुवाई गर्न गएका स्थानीय विकास अधिकारी भगवान अर्यालसँग अरु समस्या भन्दा खानेपानीकै माग बढी आउने गरेका छन् । सधै प्रयोग गरेको मुहान भूकम्पपछि सुक्यो, नजिकै अर्को मुहान छैन बत्तीले तानेर भए पनि खानेपानी व्यवस्था गर्नुपर्यो भनेर ३ सय वटा निवेदन दर्ता भएका छन्, स्थानीय विकास अधिकारी भगवान अर्यालले बताए ।
जिविसले गरेका योजना अनुगमन गर्न जुन गाविस गए पनि भूकम्पले भत्काएका घरको पूर्ननिर्माणसँगै खानेपानीकै समस्या अघि सार्छन्, अर्यालले भने ।
डाँडाको बस्ती, जंगल अभाव, सुख्खा बाँझो जमिन भएका खोल्साखाल्सीमा पनि मुहान सुकेका छन्, मैदी निवासी नेपाल पत्रकार महासंघ धादिङका पूर्वअध्यक्ष राजेन्द्रप्रताप शाहले बताए ।
धादिङका खरी, नलाङ, सलाङ, चैनपुर, मैदी, ढोला, सल्यानटार, कुम्पुर, गोगनपानी, केवलपुर, जीवनपुर, छत्रेदेउराली, नीलकण्ठ नगरपालिका, ज्याम्रुङ, सल्यानकोट, पिंडा, गजुरीलगायत डेढ दर्जन गाविसहरुमा बाह्रै मास पानीको अभाव हुने गरेको छ ।
छिमेकी गाउँलाई खानेपानीको मुहान दिएका गाउँबस्तीहरु पनि आफ्नै बस्तीमा खानेपानी समस्या परेपछि किचलो हुन थालेको छ । आफैंलाई नपुग्ने भएपछि छिमेकीलाई मुहान किन दिने भन्न थालेका छन्, बुढाथुम गाविसका सचिव दुर्गा रिजालले बताए ।
हरेक वर्ष संचालन भएका र क्रमागत आयोजनाबाहेक भूकम्पपछि थप अतिरिक्त बजेट थपिएको छैन । भूकम्पलगत्तै ३ सय २४ वटा आयोजनाका मुहान सुकेको र पाइप टुटेको भन्ने निवेदन प्राप्त भएको थियो । सरसर्ती ३० करोड रकमले आयोजनाहरु मर्मत हुनसक्ने प्रारम्भिक अनुमान गरी बजेट माग गरिएको भए पनि करिब ७० लाख रकम बराबरको मात्रै पाईप खरिद भइ वितरण गरियो, जिल्ला खानेपानी कार्यालयका इन्जिनियर सीताराम पाण्डेले बताए ।
चैत मसान्तसम्म ९ सय ६७ वटा साना ठूला खानेपानी आयोजनाहरु सुकेका निवेदन प्राप्त भएको इन्जिनियर पाण्डेले बताए । जिल्लाका पूर्वी भेकका मुहान इट्टा उद्योगहरुले जथाभावी हजारौं हेक्टर जमिनमा डोजरले खोतल्दा पनि सुकेको स्थानीयवासीको आरोप छ ।
एउटै गाविसमा प्रतिस्पर्धा गर्दै डोजर प्रयोग गरि धेरै सडक निर्माण हुनु, रैथाने जंगलको विनाश र वन फडानी भइरहेको बेला जिल्लाका अधिकांश वनजंगलमा डढेलो लाग्नाले पनि मुहान सुकेका हुनुपर्छ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख महेन्द्रराज कौडालले बताए । कान्तिपुरमा समाचार छ ।