जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ । भूकम्पमा भत्किएका संरचनामा परेर अन्य २५० जनाभन्दा बढी घाइते भएका छन् ।
जापानको दक्षिणी क्षेत्र केन्द्रविन्दू भएर ६ दशमलव ४ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पका कारण धेरै भवन भत्किएका र भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका सरकारी अधिकारीहरुले गरेका छन् ।
भूकम्पका कारण विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । १६ हजार घरमा विजुली तथा ३८ हजारभन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।
क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो । स्थानीय समयअनुसार बुधबार राति ९ः२६ मा पहिलो भूकम्प गएको हो ।
शक्तिशाली भूकम्प गएको ४० मिनेटपछि पुनः ५ दशमलव ७ म्याग्नेच्युटको पराकम्पन गएको थियो । केही भागमा ९ म्याग्नेच्युटको जत्तिकै असर परेको जापानी अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी घाइते भएका ४५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको र उनीहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । (एजेन्सी)