वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । चैते धान रोप्ने चटारो शुरु भएको छ । खेतमा धान रोप्न कृषक व्यस्त छन । ‘यतिबेला रोपेको धान असारमा पाक्छ’, खज्याङ्गकी सुमित्रा पंथीले भनिन, ‘पाकेको धान काटेर फेरी धान रोप्छौ ।’ एउटै खेतमा हिउदे र वर्षे गरी दुई पटक धान खेती हुन्छ । कृषकलाई यतिबेला खेतको काम गर्न भ्याईनभ्याई छ ।
तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम
खेतमा धान रोप्दै गरेकी पंथीले वर्षे जस्तै चैते धान पनि राम्रै फल्छ । चैत देखी दसैसम्म खेतकै काममा उनी व्यस्त हुन्छिन् । चैतमा सानो मार्सी जातको धान खेती गरिन्छ । वर्षमा दुई पटक धान रोप्दा चैत देखी दसैसम्म खेतको काममै व्यस्त भईन्छ । असारमा हिलो खेतमा धान काट्दै, फेरी धान रोप्दै व्यस्त भईने उनले बताईन् । असारमा सबैका खेतमा धान रोपिन्छ । चैतमा भने खोलाबाट खेतमा कुलो लाग्ने ठाउँमा मात्रै धान रोपिन्छ ।
तस्बिर: वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम
‘खोलामा पानी प्रशस्त छ जस्तो खडेरी भएपनि पानी सुक्दैन’, अर्का कृषक बसन्त कुमालले भने, ‘एक रोपनी खेतमा तीन मुरी जति धान उत्पादन हुन्छ ।’ गुल्मी र अर्घाखाँचीको सीमाना खज्र्याङ्ग फाँटमा धमाधम रोपाई भैरहेको छ । खेतमा गोरुसँगै ट्याक्टरले पनि खेत जोतिरहेका छन । घरमा गोरु नपालेका कृषकले ट्याक्टरले खेत जोतेका हुन् । महिलाहरु बिउ उलेख्न र धान रोप्न व्यस्त छन । असारमा जस्तै चैते धान रोप्दा सनाईको तालमा बाली गित गाउँदै रमाईले गर्दै धान रोपिरहेका छन । मथुराबेसीमा पनि धान रोप्ने चटारा छ । स्थानीय लक्ष्मण खनालका अनुसार फाँटभरी धान रोप्न सबै व्यस्त छन । उनले पनि ७ रोपनी खेतमा धान रोप्ने तरखरमा छन । खेतमा हिलो गर्दै छन । ‘एक, दुई दिनमै धान रोप्छ’, उनले भने, ‘बाझो खेत राख्नुभन्दा धान रोपे अन्न किन्नु पर्दैन, दुई पटक खेती गर्दा दोब्बर धान उत्पादन हुन्छ ।’ धानलाई सिचाई गर्न पानी पुग्ने भएकाले कसैले खेत बाझो राख्दैनन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेलका अनुसार जिल्लाको चिदिका स्थित खज्याङ्ग, मथुराबेसी फाँट, खिदिमको दुर्गा फाँट, खाकाबेसी, दुर्वाङ्ग, दमारबसी लगायतका सिद्धारा, सिमलपानीका फाँटहरुमा पनि चैत धान खेती गरिन्छ । ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जसबाट ८ सय मेट्रिकटन चैते धान उत्पादन हुने उनले बताए ।