नमुना बन्दै पाली स्वास्थ्य चौकी

पाली स्वास्थ्य चौकी । तस्बिर: राजु खनाल, अर्घाखाँचीडट्कम
राजु खनाल
पाली, अर्घाखाँची । भौगोलिक विविधताले भरिपूर्ण नेपालको पहाडी क्षेत्रमा पर्ने अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट १८ कि.मी.पूर्वमा पर्ने गा.वि.स. हो – पाली  । स्वास्थ्यका दृष्टिले सन्तोषजनक मानिने अर्घाखाँची जिल्लामा पर्ने यो गा.वि.स.मा  सी.अ.हे.ब. अधिकृत राम प्रसाद घिमिरेको कुशल नेतृत्वमा सेवा संचालन भैरहेको पाली स्वास्थ्य चौकी राष्ट्रकै उदाहरणीय स्वाथ्य चौकीको रुपमा उदाउदै गएको छ  ।
बि .स. २०५२ सालमा स्थापित यस पाली स्वास्थ्य चौकीमा हाल ७ स्वास्थ्यकर्मी र १ कार्यालय सहयोगी गरी ८ कर्मचारीले करिब ४२०० जनसंख्या रहेको पालीका जनतालाई अन्तरहृदयदेखि सेवा प्रदान गरी रहेका छन् । यसका अलवा १५ जना स्वास्थ्य महिला स्वयंसेविका सक्रियतापूर्वक स्वास्थ्य सेवामा संलग्न छन् । स्वास्थ्य सेवाको उपभोग बढाउन दलित तथा पिछडीएका वर्ग र भौगोलिक हिसाबले पहुच नपुगेको ठाउँमा सेवा प्रदान गर्नको लागि H4L र स्वास्थ्य व्यवस्थापन समितिको तर्फबाट फिल्डमा खटि काम गर्नको लागि सामुदायिक स्वास्थ्य प्रबर्द्धकको व्यवस्था गरिएको छ ।
यस स्वास्थ्य चौकीबाट थुप्रै अति उपयोगी सेवाहरु निरन्तर रुपमा कुशलतापूर्वक प्रदान गरिदै आइएको छ । यहाँ दैनिक बिरामी उपचार तथा परामर्श सेवा, ५ ओटा खोप केन्द्र मार्फत मासिक रुपमा खोप सेवा, DOTS  सेवा र  मासिक रुपमा गाउँघर क्लिनिक सेवा(बलेघाट, कोट र बलेबांग) प्रदान गरिदै आइएको छ । २०६८ सालमा जिल्लामै पहिलो पटक गर्भवती र सुत्केरी जांच सेवाको सुरुवात गरिएको यहाँ त्यस सेवालाई निरन्तरता दिइदै आइएको छ । यसका लागि गा.वि.स.कै तर्फबाट एक जना अनमीको व्यवस्था गरिएको छ । यसका साथै यहाँ परिवार नियोजनको व्यवस्था पनि गरिएको छ । महिला स्वयंसेविकाको प्रोत्साहनको लागि समेत गा.वि.स.बाटै बजेटको व्यवस्था मिलाइएको छ । यस स्वास्थ्य चौकीबाट प्रदान गरिने यस्ता स्वास्थ्य सेवाबाट आफूहरु एकदमै लाभान्वित भएको स्थानीय बताउँछन् ।
यहाँ स्वास्थ्य सेवा सुधारको लागि नियमित रूपमा प्रयासहरू हुदै आइरहेका छन् । नियमित रूपमा व्यस्थापन समिति, स्वाथ्य सुधार समिति, स्वास्थ्य आमा समूहको बैठक र अनुगमन कार्यक्रमहरू  भैरहेका छन् । स्वास्थ्य  चौकी सुधारको लागि यहाँका सम्पूर्ण राजनीतिक दल, समाजसेवी, व्यवस्थापन समिति र गा.वि.सको पूर्ण रुपमा सहयोग मिलेको छ । जि.वि.स.को सहयोगमा तीन कोठे प्रसुती गृह निर्माण समेत यहाँ गरिएको थियो ।
यस चौकीको नाममा १ रोपनी ७ आना जग्गा छ । मन्त्रालयको मापदण्ड अनुसार स्वास्थ्य चौकी निर्माण गर्नको लागि कम्तिमा पनि थप ५ रोपनी जग्गाको आवश्यक पर्दछ । त्यस्तै यहाँ थप शौचालय,तारबार र कर्मचारी आवासको व्यवस्था हुनु जरुरी देखिन्छ । त्यस्तै वडा नं.१ र ९ भौगोलिक हिसाबले टाढा पर्ने र यातायातको व्यवस्थाको कमीले गर्दा  त्यहाँका जनताहरु उपलब्ध सेवा प्रयोग  गर्नबाट बन्चित भएको अवस्था छ भने अशिक्षा र जनचेतनाको कमीले गर्दा पनि केहि जनताहरू स्वास्थ्य सेवाबाट बन्चित छन् । यसका साथ साथै स्वास्थ्य सेवाबाट नि:शुल्क उपलब्ध गराइने  सुचिकृत औषधिहरु समयमा आपूर्ति नहुनु एउटा मुख्य समस्या बनेको छ ।
त्यसैले यस स्वास्थ्य चौकीका यी समस्याहरु पनि सरकारद्वारा समयमै समाधान गर्न सकियो  भने यस स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकसित गरी लैजान सकिने कुरा यस स्वास्थ्य चौकीमा विं.सं.२०५३ देखि निरन्तर रुपमा सेवा प्रदान गर्दै आएका सी.अ.हे.ब. अधिकृत राम प्रसाद घिमिरे बताउँछन् ।

२०६८ साल जेष्ट १६ गते डा. चित्र प्रसाद वाग्लेबाट “२४ सै घण्टा सुरक्षित प्रस्तुती सेवाको उद्घाटन”:-


अन्य समाचारहरु