भेनेजुयलामा गम्भीर उर्जासंकट उत्पन्न भएपछि हप्तामा दुई दिनमात्र काम

दक्षिण अमेरिकीमुलुक भेनेजुयलामा गम्भीर उर्जासंकट उत्पन्न भएपछि हप्तामा दुई दिनमात्र काम गर्न निर्देशन दिइएको छ ।
भेनेजुयलाका उपराष्ट्रपति एरिस्टोपुलो इस्टुरिजले सरकारी कर्मचारीहरुले संकट समाधान नभएसम्म सोमबार र मंगलबारमात्र काम गर्नुपर्ने सरकारी निर्णय घोषणा गरेका हुन् ।
उनले आधारभूतरुपमा अत्यावश्यक कामबाहेक बुधबार, विहीबार र शुक्रबार कुनै काम नहुने बताए । यसबाट सार्वजनिक क्षेत्रमा काम गर्ने २० लाख व्यक्ति प्रभावित हुने बताइएको छ ।
भेनेजुयला अहिले चर्को खडेरीसँग जुधिरहेको छ । खडेरीका कारण पानीको सतह घट्दा विद्युत् उत्पादन निकै घटेको छ, जसका कारण दैनिक चार घन्टा लोडसेडिङको घोषणा गरिएको छ ।
तर, विपक्षीले भने संकट व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
भेनेजुयलामा यसअघि उर्जा बचतका लागि भन्दै करिब २८ लाख कामदारलाई शुक्रबार बिदा दिइएको थियो ।
सपिङ सेन्टरहरु खुल्ने समय घटाउन पनि निर्देशन दिइएको छ । तेलको प्रमुख निर्यातकर्ता भेनेजुयला तेलको मूल्यमा भारी गिरावट आएपछि आर्थिक संकटमा फसेको छ । (एजेन्सी)