सिरिया शान्ति वार्ता कायम राख्न अमेरिका र रुसले तत्काल उच्चस्तरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाका लागि राष्ट्रसंघीय दूत स्टाफन डी मिस्टुराले सिरियाको शान्ति वार्ता प्रक्रिया संकटमा पर्दै गएकाले त्यसलाई जोगाइराख्न अमेरिका र रुसले तत्काल हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताएका हुन् ।
पछिल्लो समय सरकारी र विद्रोही दुबै पक्षबाट अल्पकालिन युद्धविराम उल्लंघन भएका सन्दर्भमा मिस्तुराले यो आग्रह गरेका हुन् ।
यसले शान्तिवार्ताको सम्भावना टर्दै गएकाले अली अली बाँकी रहेको सम्भावना जीवित राख्न पनि अमेरिका र रुसको भूमिका महत्वपूर्ण हुने राष्ट्रसंघीय दूत मिस्टुराले बताएका हुन् ।
बुधबारमात्रै सरकारी सेनाले गरेको हवाई आक्रमणमा कम्तिमा २० जना मारिएका थिए । अमेरिका र रुसबीचको सहकार्यले मात्र सिरिया समस्या समाधान हुने उनको भनाइ छ । (एजेन्सी)