काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका एक युवक सहित ४ जनालाई रसिया पठाइदिने भनी ठगी गर्ने काठमाडौं मनमैजु बस्ने मकवानपुर हेटौंडा नगरपालिका-११ का २२ वर्षीय विजय थापालाई महानगरीय अपराध महाशाखाले काठमाडौं गौशालाबाट बुधबार पक्राउ गरेको छ ।
थापाले अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ बस्ने २७ वर्षीय विष्णुबहादुर बस्नेतसमेतका ४ जनालाई विभिन्न प्रलोभन देखाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले दिएमा रसिया लैजाने भनि आफु मात्र रसिया जान लागेको अवस्थामा पीडितहरुको सूचनाको आधारमा महाशाखाले उनलाई पक्राउ गरेको हो ।
थापाको साथबाट विभिन्न नक्कली भिषा, पीडितका राहदानी ४ थान समेतका कागजातहरु प्रहरीले फेला पारी बरामद गरेको छ ।
ठगी कार्यमा संलग्न थापालाई आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।