सिरियाली शरणार्थी शिविरमा हवाई हमला कम्तिमा २८ जनाको मृत्यु

विद्रोही नियन्त्रित उत्तरी सिरियाली क्षेत्रमा भएको हवाई कारबाहीमा कम्तिमा २८ जनाको ज्यान गएको त्यहाँ रहेका अनुगमनकर्ताले बताएका छन्।
सामाजिक सञ्जालहरुमा आएका तस्वीरहरुमा टर्कीको सीमा नजिकै पर्ने इड्लिबको कामोउना शिविरमा शरणार्थी बस्ने पालहरु जलेको देखिएको छ।
केही रिपोर्टहरुमा जनाइअनुसार सो हवाई आक्रमण सिरियाली वा रुसी युद्ध विमानले गरेका हुन् तर तीनको आधिकारिक रुपमा पुष्टि भएको छैन।सिरियाली युद्धविराम सम्झौताको म्याद थपिएको एक दिनपछि ती हमलाहरु भएको छ।
इड्लिब प्रान्तस्थित उक्त शिविरमा कसले आक्रमण गर्यो भन्ने कुरा थाहा भइसकेको छैन तर एकजना पत्रकारले स्थानीयबासिन्दालाई उद्धृत गर्दै सरकारी फौजमाथि आक्रमणको आरोप लगाएको बीबीसीलाई बताएका छन्।
पछिल्ला साताहरुमा विद्रोहीलाई लक्षित गर्दै सिरियाली फौजले उक्त क्षेत्रमा आक्रमण गर्दै आएको छ।खासगरी अलेप्पो शहरबाट भागेका मानिसहरु बस्दै आएको शिविरको ठूलो हिस्सा क्षतिग्रस्त भएको द गार्डियन पत्रिकाका पत्रकार करीमा शाहीनले बताए।आक्रमणपछि त्रिपालहरुमा आगो लागेको डरलाग्दो अवस्था देखिएको उनले बताए। अमेरिकी र ब्रिटिश सरकारले आक्रमणको निन्दा गरेका छन्।
अमेरिका र रुसको दबाबमाझ सिरियाली सेना र गैरजिहादी विद्रोही फौजहरुले एलेप्पो वरपर अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए।
एलेप्पो वरपर हालैका सातामा भएका भिडन्तमा करिब ३०० जनाको ज्यान गइसकेको छ।संयुक्त राष्ट्रसंघले भनेको छ सत्रुता अन्त्यको समझदारी पालना भएन भने सिरियाबाट अरु ४ लाख मानिसहरु आफ्ना थातथालो छोडि टर्कीको सीमा क्षेत्रमा पुग्नेछन्।