प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासविना मुलुकको विकास सम्भव नहुने बताएका छन् ।
नवौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार पर्यटन क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
सगरमाथा नेपालको गौरवको रुपमा रहेको भन्दै उनले सगरमाथाको संरक्षणका लागि सबैको ध्यान जानु जरुरी रहेको पनि प्रष्ट पारे ।
विश्वका पर्यटकका लागि नेपाल गन्तव्यको रुपमा रहेको भन्दै प्रधानमन्त्री ओलीले प्राकृतिक रुपमा धनी भए पनि नेपालले पर्यटन क्षेत्रमा आशातित प्रतिफल प्राप्त गर्न नसकेको बताए । जलवायु परिवर्तन र सरमाथा क्षेत्रमा बढ्दो फोहोर मैलाले सगरमाथा क्षेत्रमा प्रदूषण बढ्दै गएको भन्दै उनले पर्यटकीय सम्पदाको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ् छिरीङ शेर्पाले आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि सरकार उदासिन रहेको बताए । उनले सगरमाथा संरक्षणका लागि विशेष योजनाको खाँचो रहेको भन्दै सरकारले गरेको काममा नीजि क्षेत्रले पनि सहयोग गर्ने बताए ।
सगरमाथा नेपालको पहिचान भएकाले यसलाई बचाउन सरकार र नीजि क्षेत्रको सहकार्यबाट मात्र सम्भव रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सगरमाथा आरोहण गर्ने विभिन्न आरोहीलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए । इमेजखबरमा समाचार छ ।