असुरकोट, अर्घाखाँची । तेस्रो विश्व महिनावारी स्वच्छता दिवस, मे २८ को अवसरमा “महिनावारी भएको बेला नरोकौ चर्पी र धारा यहिबेला झन चाहिन्छ सरसफाइ र पोषिलो आहारा” भन्ने नाराका साथ अर्घाखाँची जिल्लाको असुरकोटमा प्याड निर्माण तालिम सञ्चालन गरियो ।
जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रोको आयोजनामा जनप्रिय उच्च मा.वि.मा सञ्चालित कार्यक्रममा महिनावारी स्वच्छता र पूर्ण सरसफाइ अभियान सम्बन्धमा जिल्ला परियोजना अधिकृत कुशल भुसाल, यु.एन.ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले सहजीकरण गर्नु भएको थियो । महिला स्वास्थ्य स्वयम् सेविकाहरु १२ जना, शिक्षिकाहरु ४ जना र छात्रा ४ जना गरी २० जनाको सहभागिता रहेको उक्त तालिममा अगुवा सरसफाइ सहजकर्ता भावना भुसालले प्याड बनाउन सिकाउनु भएको थियो भने फिल्ड कोओर्डिनेटर खिमानन्द रिजालले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो ।
स्थानीय स्तरमा सुती कपडाको प्रयोग गरी तयार पार्न सकिने र प्रयोग गरेपछि धोएर पुनः प्रयोग गर्न सकिने, एक मिटरबाट चारवटा प्याड बन्ने हुँदा आर्थिक हिसाबले पनि बजारमा पाइने सेनेटरी प्याड भन्दा सस्तो पर्ने र फोहोर व्यवस्थापन गर्ने हिसाबले पनि वातावरणमैत्री हुने हुनाले प्याड तयार पारी प्रयोग गर्न, अन्यलाई सीप सिकाउन तथा वितरण गर्न सकिने तालिमकी सहभागी शिक्षिका रञ्जना गैरे दमासेले बताउनु भयो । यस तालिमबाट सहभागी सबै उत्साहित भएका छन् ।
सोही अबसरमा जनप्रिय उच्च मा.वि. कक्षा ९ का ४७ छात्रा र ३३ छात्रा गरी ९० जना बिद्यार्थी एवं ५ जना शिक्षिकाको सहभागितामा महिनावारी हुँदाको स्वच्छता, विश्व महिनावारी स्वच्छता दिवस मनाउनुको सन्दर्भ बारेमा कुशल भुसाल र विष्णु दवाडीले सहजीकरण गरी विद्यालयमा महिनावारीमैत्री शौचालय र प्याडको व्यवस्थापन पक्षमा जोड दिनु भएको थियो । यसै गरी बाल शिक्षा नि.मा.वि.मा कक्षा ५ देखि ७ सम्मका छात्राहरु र शिक्षिक शिक्षिकाहरुको सहभागितामा महिनावारी स्वच्छता सम्बन्धी छलफल गरी विद्यालयमा महिनावारीमैत्री सरसफाइ सुविधा व्यवस्थापन गर्न सुझाब दिइएको थियो ।
घनश्याम पौडेलबाट