अर्घाखाँची – काठमाडौंका लागि डिलक्स बस सञ्चालन, गाडी अनावश्यक रुपमा कुनै पनि ठाउँमा नरोकिने, मोवाइल चार्ज, शुद्ध पानीको व्यवस्था ( भिडियो – फोटो सहित )

भिडियो: सहयोगी बिसीबाट 

अर्जुन भुसाल
चुत्राबेशी, अर्घाखाँची असार ५  । पश्चिम नेपाल वस व्यवसायी समितिले अर्घाखाँची देखि काठमाडौंका लागि सुविधा सम्पन्न डिलक्स बस सञ्चालनमा ल्याएको छ । आइतबार बिहान ५ बजे काठमाडौंका लागि बस छुटाएर औपचारिक रुपमा बस सेवा सञ्चालन गरिएको छ ।
टिका र खादामा सजिएका यात्रु बस चढ्ने तयारीमा । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
बसमा सवार यात्रुलाई पश्चिम नेपाल बस व्यवसायी  समितिका सल्लाहकार सरोज पौडेलले टिका र खादाले स्वागत गरे  । टिका, खादामा सजिएर यात्रा गर्न पाएकोमा बसमा सवार सबै यात्रु दंग थिए ।   हरेक दिन बिहान पाँच बजे बस छुट्ने समितिका सल्लाहकार पौडेलले जानकारी दिए । ‘अर्घाखाँचीबाट काठमाडौं र काठमाडौंबाट अर्घाखाँचीका लागि गाडी छुट्ने समय बिहान मात्रै हो’ उनले भने, ‘डिलक्सको सेवा दिउसोमा मात्रै हुन्छ ।’ अहिले पाँच ओटा बस सञ्चालनमा ल्याएको छ । पौडेलले थप पाँच ओटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।
बसमा २८ ओटा सिट छन् । पहिलो दिनमै सबै सिटमा यात्रु भरेर बस छुटेको छ । बसमा सवार एक यात्रुले डिलक्स बस चल्ने थाहा पाएपछि दिउसोको यात्रा गर्न लागेको बताए । ‘अर्घाखाँचीबाट काठमाडौं र काठमाडौंबाट अर्घाखाँचीको यात्रा गर्न निकै कष्ट हुने गरेको थियो’ उनले भने, ‘आरामदायि बस सञ्चालनमा आएपछि खुसी लागेको छ ।’ उनले समय मिलेसम्म सधै डिलक्समै यात्रा गर्ने बताए ।  पंखा प्रत्येक सिटमा मोवाइल चार्ज गर्ने सुविधाका साथै गाडी भित्रै शुद्ध पानीको व्यवस्था मिलाइएको सन्धिखर्क गोरुसिङ्गे सडकका रुट प्रमुख तथा गाडी धनी रामु बस्नेतले बताए । उनले १० वर्ष भन्दा बढि समय गाडी चलाएकालाई मात्रै चालकको रुपमा राखिएको बताए । ‘गाडी चालक सहचालकलाई प्रशिक्षण समेत प्रदान गरेका छौं’ उनले भने, ‘उनीहरुलाई एकै खाले पोशाकको पनि व्यवस्था मिलाएका छौं ।’ उनले गाडी यात्रुको अनुरोध बाहेक अनावश्यक रुपमा कुनै पनि ठाउँमा नरोकिने बताए । ‘चालक र सहचालकले मुस्कान सहितको सेवा दिन्छन्’ उनले भने, ‘एकपटक यात्रा गरेपछि सबै सेवा सुविधा अनुभव गर्न सकिन्छ ।’
गाडी धनी सुरेन्द्र पाण्डेले यात्रुहरुलाई गुणस्तरीय खना खुवाउनका लागि नवलपरासिको दुम्कीबासमा स्तरीय होटल सञ्चालन गर्न लागिएको बताए ।  प्रति बसलाई ५५ लाखका दरले खरिद गरिएको उनले बताए । अन्य गाडीको तुलनामा यि बसमा २० प्रतिशतले भाडा बढि तिर्नुपर्छ । अर्घाखाँची देखि काठमाडौंको भाडा ९१८ कायम गरिएको छ । ‘विद्यार्थी, वृद्धवृद्धा अपाङ्ग र पत्रकारलाई भाडामा केहि प्रतिशत छुट प्रदान गर्छौं’ समिति सल्लाहकार पौडेलले भने, ‘नियम अनुसार ३६ सिटको पास हुने भएपनि घुडा नठोक्किउन भनेर २८ सिटको मात्र बनाएका हौं ।’ डिलक्स बस सञ्चालनमा आएपछि पर्यटकीय दृष्टिले पनि फाइदा मिल्ने व्यवसायीहरु बताउँछन् । काठमाडौंमा आएका विदेशी पर्यटक तथा आन्तरीक पर्यटकलाई अर्घाखाँची ल्याउन पहल थालिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार: 

अन्य समाचारहरु