दार्चुलास्थित महाकाली नदीमा पानीको सतह बढेको छ । शनिबार दिनभरिको वर्षाले रातिदेखि नदीमा पानीको सतह बढेको हो । नदीमा पानीको सतह बढेपछि नदी किनारमा बसोबास गरिरहेका स्थानीयमा चिन्ता बढेको छ ।
नदीको सतह बढेपछि यहाँका स्थानीयमा बाढीको त्रास समेत बढेको हो । बाढी आउन सक्ने त्रासले स्थानीयहरु रातभर नदी हेरेर रात कटाएको बताउँछन् । शनिबार बेलुकीबाटै नदीमा पानीको सतह बढेको स्थानीयको भनाई छ ।
नदीमा पानीको सतह बढेपछि सदरमुकाम खलंगास्थित पुलघाटबाट बांगाबगड जाने बाटो बन्द भएको छ । नदी बाटोबाट बगेपछि स्थानीय नदी किनार माथिबाट जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
२०७० को बाढीले उच्च जोखिममा रहेका स्थानमा नदी तटबन्धको बराबरै बगिरहेको छ । तटबन्ध पहिलो लेवल निर्माण भएकाले अन्य वर्षको तुलनामा कटान भने भएको छैन । तर, सबै स्थानमा तटबन्धले जग नहालेको हुनाले नदीले केही ठाउँमा भने कटान सुरु गरेको छ ।
नदीको सतह खतराको रेखामा नपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारततिर राखेको पानीको सतह मापन स्केलमा ४० पुगे खतराको रेखामा जाने र अहिले ३५/३६ सम्म पुगेको दार्चुलाका प्रहरी डिएसपी सुशीलसिंह राठौरको भनाई छ । कान्तिपुरमा समाचार छ ।