अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
गुल्मी, पाल्पा, मकवानपुर र प्युठानमा आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । गुल्मीको विशुखर्क, हस्तीचौर र गैंडाकोटमा सोमबार राति पहिरोले दुई घर र एउटा गोठ पुरिँदा सात जनाको मृत्यु भएको छ ।
विशुखर्क गाविस-९ पदमखानीमा पहिरो जांदा गोपाल रानाका ९ वर्षीय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको हो । यस्तै गुल्मीको हस्तीचौर गाविस-१ माल्वीमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरुको परिचय खुल्न बाँकी छ । त्यसैगरी गुल्मीकै गैंडाकोट-७ मा पहिरोले गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अविरल बर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले गुल्मीका दुईवटा झोलुंगे पूल बगाएको छ भने धार्मिक स्थल रिडि बजार उच्च जोखिममा परेको छ ।
यस्तै कालीगण्डकी नदीको बाढीले रिसिकेस मन्दीर समेत जोखिममा परेको छ । नदीको बहाब अहिले ऋषिकेस मन्दिरमा पुग्न लागेको प्रहरीले जनाएको छ
यता, रिडिमै कालीगण्डकीको बाढीले ३ घर बगाएको छ भने बडीघाट खोलामा आएको बाढीले उर्लिखोला बजारका ५९ घर परिबार बिस्थापित भएको प्रहरीले जनाएको छ ।
यसैगरी प्युठानमा पनि गएराति पहिरोले एक घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । लुम-६ उपल्लो बहानेमा बर्षासँगै गएको पहिरोले शिशिर केसीको घर पुरिँदा उनकी २५ बर्षिया श्रीमती रजनी केसी र ३ बर्षिया छोरी मुस्कानको मृत्यु भएको छ ।
यता, मकवानपुरको भीमफेदी गाविस-५ स्थित सोलुभन्ज्याङमा आज बिहान पहिरोले मनमाया स्याङतानको घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्तानका ज्वाइँ २५ वर्षीय टेकबहादुर रुम्वा, छोरी २३ वर्षीय पार्वती रुम्वा र नाती ६ वर्षीय विकास रुम्बा छन् ।
यस्तै पाल्पाको दोभान-५ झुम्सामा गएराति पहिरोले सात घर बगाएको छ । पहिरोमा परी अस्मिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ
यसैबीच कास्कीको मादी नदीले सिन्धुजुरेस्थित सोधा गाउँका अशोक भुजेल, बालसिंह भुजेलको घर, एउटा क्लिनिक र एउटा बिद्यालयका दुई वटा कोठा बगाएको छ ।
कास्कीकै घट्टेखोलामा पहिरो जाँदा पोखरा-बाग्लुङ राजमार्ग पनि अबरुद्ध भएको छ । पोखरा-पामे सडक खण्डको पनि ठाउँठाउँमा पहिरो गएका कारण सडक पूर्णरुपमा अबरुद्ध बनेको हो । पोखराको छोरेपाटनस्थित घैया फाँट पनि जलमग्न हुँदा अधिकांश घरमा पानी पसेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।