अर्घाखाँचीमा स्थानीय सरकारको खाका तयार

सन्धिखर्क लगायत । फाइल तस्बिर 

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची साउन १३ । जिल्लामा दुई नगरपालिका र ४ गाउँपालिका सहित ६ ओटा स्थानीय सरकारको खाका तयार भएको छ । 
बिहिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलिय वैठकले स्थानीय सरकारको खाका तयार गरेको निर्णय गरेको हो   । एक नगरपालिका र ३५ गाविस रहेकोमा  दुइ नगरपालिका र ४ गाउँपालिका गरि छ स्थानीय सरकार बन्ने भएका छन् । वैठकले नगरपालिका र गाउँपालिकाको नामांकन गर्नुका साथै केन्द्रको पनि टुङ्गो लगाएको छ । धार्मिक तथा पर्यटकीय स्थलको नामबाट गाउँपालिका र नगरपालिकाको नामकरण गरिएको छ । ०७१ वैशाख २५ गते सात गाविसहरु सन्धिखर्क, किमडाँडा, वाङ्गला, खाँचीकोट, नरपानी डिभर्ना, अर्घा गाविस नगरपालिकामा परिणत भएका थिए । नयाँ पुर्नसंरचना अन्तर्गत डमरुदह नगरपालिका भएको  छ । 
ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सितापुर र सुर्वणखनाल गाविसलाई समायोजन गरि डमरुदह नगरपालिका निर्माण गरिएको छ । यस्को केन्द्र ठाडा गाविसको सुकादहमा बनाइने भएको छ । पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ्ग पाली अडगुरी गाविसलाई समायोजन गरि पाणिनि गाउँपालिका  भएको छ । यस्को केन्द्र दुर्गाफाँटमा राखिने छ ।  धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारपानी र ढाकावाङ्ग गाविसलाई मिलाएर  भूमेकास्थान गाउँपालिका बनाइएको छ । यस्को केन्द्र स्थलगत अध्ययन गरेर तय गरिने भएको छ । गोखुङ्गा, हंसपुर वाँगी, खन, खनदह, मरेङ्ग, अर्घातोष गाविसलाई समयोजन गरेर मालारानी गाउँपालिका बनाइएको छ । यस्को केन्द्र खनदह गाविसको गिद्धेपोखरी रहने भएको छ । यस्तै चिदिका, बल्कोट, केरुङ्गा छत्रगञ्ज, भगवति, ठूलापोखरा, अर्घातोष गाविस गाभिएर छत्रेश्वर गाउँपालिका बनेको छ । यस गाउँपालिकाको केन्द्र छत्रगञ्जमा राखिने भएको छ । यस्तै ढिकुरा गाविस र पाली गाविसको  वडा नं. ९ बलेबाङ्ग सन्धिखर्क नगरपालिकामा गाभिएको छ । यस्तै चिदिका गाविसको वडा नं. ९ मधुलेखलाई पाणिनि गाउँपालिकामा गाभ्नुका साथै अर्घातोष र मरेङ्ग गाविसको पायक पर्ने वडाहरुलाई छत्रेश्वर गाउँपालिकामा समायोजन गर्ने निर्णय भएको छ ।
 गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना आयोगले अर्घाखाँचीमा छ ओटा स्थानीय सरकार आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।  आयोगले दिएको निर्देशनको आधारमा जिल्लालाई पुर्नसंरचना गरिएको हो । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले सबैको सहमतिमा स्थानीय सरकार गठन भएकाले निर्णय आयोगमा पठाउने तयारी भएको जानकारी दिइन ।  उनले एक दुइ तिन भित्रै वडाको पनि टुंगो लगाउने बताइन । ‘अन्य जिल्लाको तुलनामा हामी छिट्टै सहमतिमा पुगेका छौं’ उनले भनिन, ‘वैज्ञानिक ढंगले गाउँपालिका  नगरपालिका निर्माण गरेका छौं ।’ उनले जिल्लाका राजनीतक दलहरुको प्रभावकारी समन्वयका कारण छिट्टै टुंगोमा पुग्न सकिएको बताइन । पहाडी जिल्लाको हकमा गाउँपालिकाका लागि २५ हजार जनसंख्या आवश्यक पर्छ ।  यस्तै  सदरमुकाम बाहिरको नगरपालिकाका लागि  ३५ हजार र सदरमुकामको नगरपालिकाका लागि ४५ हजार जनसंख्या आवश्यक पर्ने उनले बताइन ।
नक्सा । फेसबूकबाट 

 गाउँपालिकाको वडाको लागि ३७ सय र नरपालिकाको वडाका लागि ४ हजार जनसंख्या अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । जनसंख्या कम भएपछि सन्धिखर्क नगरपालिकाका अधिकांश  वडाहरु समेत गाभिने भएका छन् । गाउँपालिकामा ५ देखि १२ र नगरपालिकामा ९ देखि १४ वडाहरु कायम गरिनुपर्ने व्यवस्था छ । नेपाली कांग्रेसका  जिल्ला सभापति विष्णु खनाल  मुस्कानले निर्विवाधित रुपमा छिट्टै जिल्लाको पुर्नसंरचना गरिएको बताए । ‘हामीले गरेको निर्णयमा कसैले प्रश्न उठाउने ठाउँ छैन’ उनले भने, समग्र जिल्लाको हितमा आधार भएर पुर्नसंरचना गरेका छौं ।’ नेकपा एमालेका जिल्ला जिल्ला कमिटी कार्यवहाक अध्यक्ष जीवनारायण कोइरालाले  सबैलाई पायक पर्ने ढंगले जिल्लाको पुर्नसंरचना गरिएको बताए । उनले दलहरुबीचमा कुनै पनि विवाद नभएको बताए । ‘राजनीतिक स्वार्थबाट माथि उठेर निर्णय गरेका छौं’  उनले भने, यो निकै राम्रो काम भएको छ ।’  नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्वलले गाउँपालिका र नगरपालिका निर्माण गर्दा कुनै पनि दलले राजनीतिक स्वार्थ नराखेको बताए । ‘भोलीका सन्ततीको भविश्यलाई ख्यालमा राखेर स्थानीय सरकार बनाएका छौं’ उनले भने, ‘भूगोल र जनसंख्यालाई प्रमुख आधार मान्यौं ।

अन्य समाचारहरु