नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।
परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको केन्द्रका उपसचिव गोपाल भट्टराईले जानकारी दिए।
त्यसैगरी गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको छ भने कक्षा ५ को सिकाइ उपलब्धि पनि खस्किँदै गएको छ। केन्द्रका अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४६ मा झरेको छ। गणितमा ५३ बाट खस्किएर ४८ मा पुगेको छ भने अङ्ग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकामा गत वर्षको अध्ययनमा ४७ मा झरेको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रले २३ जिल्लाका एक हजार ५४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो भने कक्षा ५ को २३ जिल्लाका एक हजार ५४३ विद्यालयका ४० हजार १५ जना विद्यार्थीको सिकाइ परीक्षण गरेको थियो।
उपत्यका, हिमाल, पहाड, तराई र पाँचै विकास क्षेत्र समेटिने गरी गरेको अध्ययनमा सिकाइ उपलब्धि परीक्षणले अन्य क्षेत्रकोभन्दा उपत्यकाको नतिजा सबै विषयमा उच्च रहेको देखाएको छ। उपत्यकापछि पहाडी क्षेत्रमा विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको छ।
विकास क्षेत्रका आधारमा पश्चिमाञ्चल विकास क्षेत्रमा सिकाइ उपलब्धि उच्च रहेको जानकारी दिँदै भट्टराईले ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको बताए।
सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको सिकाइ उपलब्धि उच्च रहेको छ। कक्षा ३ को गणितमा औसतभन्दा कम ११ जिल्लाका विद्यार्थीले औसत अङ्क पनि ल्याउन नसकेको अध्ययनमा उल्लेख छ।
अङ्ग्रेजीमा २३ जिल्लामध्ये आठ वटाले मात्रै औसत अङ्क प्राप्त गरेको छ। आठ वटामा काठमाडौैँका विद्यार्थीको अङ्ग्रेजीमा सबैभन्दा राम्रो पाइएको छ भने काठमाडौँ, भक्तपुर, ललितपुर, झापा, नवलपुरासी, इलाम, धादिङ, मोरङका विद्यार्थीले मात्रै औसत अङ्क प्राप्त गरेका छन्।
अङ्ग्रेजीमा सामुदायिक विद्यार्थीको औसत उपलब्धि पनि प्राप्त नभएको जानकारी दिँदै भट्टराईले निजी विद्यालयमा पढ्ने विद्यार्थीको औसत उपलब्धि भने राम्रो भएको बताए।
अङ्ग्रेजीमा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि ३८ छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीको ७३.१ छ । केन्द्रले सामुदायिक विद्यालयका नौ हजार ८५० र निजी विद्यालयका तीन हजार २९६ विद्यालयका विद्यार्थीको परीक्षण गरिएको थियो। रासस