छत्रगञ्ज-काठमाडौँ सम्पर्क समाजको दोस्रो साधारण सभा तथा शुभकामना कार्यक्रम सम्पन्न

८ असोज, काठमाडौँ  ( अर्घाखाँचीडट्कम)।  वाल्मिकी क्याम्पस परिसरमा छत्रगञ्ज-काठमाडौँ सम्पर्क समाजको दोस्रो साधरण सभा समाजका अध्यक्ष टोपलाल पौडेलको अध्यक्षतामा सम्पन्न भयो । 
समाजका अध्यक्ष पौडेलले समाजको प्रगति विवरण र आगामी नीति कार्यक्रमको मोटामोटी जानकारी गराउनु भएको थियो । २०७१ भदौ महिनामा श्री सार्वजनिक उच्च मावि छत्रगञ्ज बहखोरमा पुस्तकालय स्थापनार्थ जम्मा भएको समुह नै समाज गठनको श्रेय भएको बताउँदै पौडेलले त्यति बेला नै पुस्तकालय उपसमिति गठन गरेर छत्रगञ्जको उच्च माविमा पुस्तकालय खोल्ने काम भएको र त्यसको लागि काठमाडौँबाट करिब ३ हजार जति पुस्तक पठाइएको सम्झना गर्नुभयो । त्यसपछि २०७२ सालमा पुस्तकालय निरन्तरताको लागि टिसर्ट अभियान गरिएको र त्यसले समाजका सदस्यहरुलाई एकताबद्ध बनाउन सहयोग गरेको मात्र होइन, टिसर्ट अभियानको विक्रीबाट संकलित ३७ हजार ३ सय ६० रुपैँया गएको २०७३ वैशाख महिनामा स्कूल परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयो । आगामी दिनमा समाजले विभिन्न सृजनात्मक काम गर्ने जसमा एम्बुलेन्सको लागि पहल गर्ने, समाजको डायरी प्रकाशन गर्ने योजना सुनाउनुभएको थियो ।  
कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष तेजबहादुर पन्थीले २०७१ सालमा समाज गठन भएपश्चात खोलिएको छत्रगञ्ज बचत कोषबारे संक्षेपमा विवरण दिनुहुँदै यो बर्ष सम्पूर्ण वचतकर्तालाई बोनस स्वरुप रु. १५ सय प्रदान गरिने कुरा जनाउनु भयो । कार्यक्रममा समाजका सल्लाहकार सदस्य पदमलाल पाण्डेले नयाँ बन्दै गरेको छत्रेश्वर गाउँपालिकामा एम्बुलेन्सको आवश्यकता रहेको जनाउहुँदै त्यसको लागि सबैले पहल गर्नुपर्ने कुरा उठाउनुभएको थियो ।
समाजका उपाध्यक्ष कविराज पोखरेलले समाज सफलता पूर्वक दोस्रो साधरणसभामा पुगेको उपलक्ष्यमा सम्पूर्ण सदस्यलाई स्वागत गर्नुभयो । समाजका सल्लाहकार बाबुराम पोखरेल, सदस्य द्वय हरिबहादुर रायमाझी, कमला आचार्य, रविन पन्थी तथा धिरेन्द्र प्रधानले समाजको तर्फबाट दशैँ तिहार र छड पर्वको शुभकामना मन्तव्य दिनुभएको थियो । 
कार्यक्रममा छत्रगञ्जबाट काठमाडौँमा बसोबास गर्ने करिव ५० जनाको उपस्थिति थियो । उपस्थितमध्ये केही सदस्यले नयाँ सदस्यता लिने र पूरानो सदस्यता नविकरण गरिएको र सो वापत ३७ सय रुपैँया संकलन पनि भएको थियो । कार्यक्रम समाजका सचिव अर्जुन पन्थीले सञ्चालन गर्नुभएको थियो ।  

अन्य समाचारहरु