यो यस्तो ठाउ हो जहाँ रागा जुधाएर दशैमा रमाइलो गरिन्छ

सदरमुकामवासीले शनिबार बिहान घरघरमा जमरा राखे । दिउँसो नजिकैको बाउली बगरमा दुई जोर राँगा जुधाएर रमाइलो गरे । घटस्थापनाको दिन राँगा जुधाएर रमाइलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन हो ।

घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइलो गर्ने चलन छ । सदरमुकाम मार्तडीसहित बाह्रबिस, गुदुखातीलगायत क्षेत्रमा समेत घटस्थापनाको दिन राँगा जुधाएर रमाइलो गरिएको स्थानीयवासीले बताए ।  बाउलीमा दुई जोर राँगा जुधाइमा खुबै रमाइलो भयो,  स्थानीय उमेश बडुवालले भने ।

 जिल्लामा दसैंको अवसर पारेर राँगा जुधाउने चलनको आफ्नै महत्त्व छ । वल्लो पल्लो गाउँका थुप्रै जोडी राँगा आपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ । जित्ने राँगा र गाउँवासीको शानै बेग्लै हुन्छ । जित्ने राँगाको मूल्य वृद्धि हुन्छ, मालिक र उनको गाउँका सबैको इज्जत बढेको मानिन्छ । हार्ने राँगाको मूल्य घट्छ ।


दसंै मनाउने यहाँका बासिन्दाको आफ्नै मौलिक परम्पराअनुसार दसंैको दिन समथर फाँटमा राँगो दौडाएर पछाडिबाट लखेट्दै निश्चित ठाउँसम्म पुर्‍याएर राँगो मार्ने चलन छ । यहाँका बस्तीहरूमा दसंैको उत्सव कोजाग्रत पूर्णिमाकै दिन सकिँदैन ।


घटस्थापनाबाट सुरु भएर मंसिर महिनासम्म आफ्नै मौलिकताअनुसार दसैं चलिरहन्छ । बेग्ला बेग्लै तिथिमा आ आफ्नै मौलिक परम्पराअनुसार दसैं मनाउने प्रचलन छ । उक्त अवधिभर राँगा जुधाइसमेत चलिरहन्छ । कुनैकुनै गाउँमा मंसिरमा दसैं मनाइन्छ, त्यसबीचमा राँगा जुधाइ पनि चल्छ  संस्कृतिका ज्ञातासमेत रहेका स्थानीय जहरसिंह थापाले भने । बार्जुकोट, बाह्रबिस, आटीचौर, सिगाडालगायत ठाउँका दसैं झनै चर्चित छन् ।

 बार्जुकोटको दसैंमा दिउँसो बलि पूजा गरेर रातभर भुक्तोलीमा भव्य जात्रा लाग्छ । भुक्तोली जात्रामा रातभर देउडा खेल चल्छ ।
महिला र पुरुषबीच घम्साघम्सी देउडा हुने भएकाले उक्त जात्रामा बाजुरा र बझाङका स्थानीय देउडा पारखी र युवायुवती भेला हुन्छन् । बाह्रबिसस्थित सेरालाबाडाको दसैं बाजुराको अर्को मुख्य दसैंजात्रा हो । कार्तिक शुक्ल अष्टमीमा सेरालाबाडावासीले दसैं मनाउँछन् । टीकाको खासै महत्त्व नदिने उनीहरूसमेत आफ्नै परम्पराअनुसार दसैं मनाउँछन् । गाउँलेहरूले गाउँको दसैं भएकै दिन टीका र जमरा पहिरिन्छन् । कान्तिपुरमा समाचार छ ।