छत्रगञ्ज, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रगञ्ज गाविसको डिही-खाल्टेपोखरी स्थित श्री सरस्वती प्राविमा “श्री सरस्वती बालपुस्तकालय”को उद्घाटन भयो । विद्यालय बन्द रहेको समयमा द्वादशीको दिन शिक्षक परिवार तथा रुपन्देही छत्रगञ्ज सम्पर्क समाज तथा छत्रगञ्ज काठमाडौँ सम्पर्क समाज सदस्यहरुको उपस्थितिमा बालपुस्तकालयको उद्घाटन गरिएको थियो ।
उक्त उद्घाटन समारोहमा बोल्दै विद्यालयकी प्रधानाध्यापिका श्री लता शाहले गाउँ बाहिर रहेका व्यक्तिहरुले कम्तिमा विद्यालयलाई सम्झेकोमा खुसी व्यक्त गर्नुभयो । २०७३ जेठ महिनामा काठमाडौँ रहेका छत्रगञ्ज-१ खाल्टेपोखरी निवासी श्री प्रेम पाण्डेले विद्यालयमा रहेका करिव ५० विद्यार्थी प्रत्येकलाई एक दर्जन पेन्सिल र एक दर्जन कापी बाँडेको प्रधानध्यापिका शाहले सम्झना गर्नुभयो । र भन्नुभयो पूर्व विद्यार्थीले यस विद्यालयलाई फेरि पनि सम्झेका छन् । यसैगरी सम्झदै गएमा विद्यालयको उन्नतीमा सहयोग हुनेछ ।
विद्यालयका शिक्षक उमानाथ पन्थीले उद्घाटन भएको बालपुस्तकालयलाई अझै व्यवस्थित बनाउनको लागि विद्यालय आफैले एउटा काठे दराज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्का शिक्षक प्रकाश शाहले पुस्तकालयको उद्घाटनले विद्यालय परिवारमा थप हौसला बढेको भन्दै यसले गाउँ बाहिर रहेको पूर्व विद्यार्थीको जनशक्तिसँग सहकार्यको वातावरण बनाएको बताउनुभएको थियो ।
रुपन्देही छत्रगञ्ज सम्पर्क समाजका महेश पाण्डेले उद्घाटित बाल पुस्तकालयलाई निरन्तरता दिने पहिलो कर्तव्य विद्यालय परिवारको भएको र निरन्तरता हुँदै गएमा समाजको तर्फबाट सहयोग गर्ने बचन दिनुभयो । साथै भुईँमा ओछ्याउने म्याट समाजको तर्फबाट दिने बचनबद्धता पनि दिलाउनु भयो । कार्यक्रममा छत्रगञ्ज काठमाडौँ सम्पर्क समाजका सचिव श्री अर्जुन पन्थीले शिक्षाविद् प्रमोद भट्ट र प्रनव भट्टले दिनुभएका ३२५० रुपैँया बराबरका ३४ थान पुस्तक प्रधानाध्यापिकालाई प्रदान गर्नुभएको थियो ।