अलकायदाको कमाण्डर भन्दै ठगी गर्ने अर्घाखाँची सिद्धाराका बैकुण्ठ बेल्बासे काठमाडौंमा पक्राउ

काठमाडौं ( अर्घाखाँचीडट्कम) । विभिन्न सशस्त्र समूहको कमाण्डर हुँ भनि धम्कि दिई जवरजस्ती रकम असुल गर्ने हाल मनमैजु बस्ने अर्घाखाँची सिद्धारा-३ घर भएका ४१ बर्षीय बैकुण्ठ बेल्बासेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बेल्वासेलाई मनमैजुबाट पक्राउ गरेको हो ।
बेल्बासेले उपत्यकाका केही व्यवसायी एवं व्यक्तिहरुलाई विभिन्न मोवाईल नम्वरबाट फोन गरी तथा चिठीपत्रहरु पठाई आफूलाई भूमिगत समूहहरु अलकायदा विश्व संगठन (दक्षिण एशिया,नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाईगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिना जस्ता नक्कली उपनामहरु राखि धाक-धम्की दिई आतङ्कित तुल्याई रकम असुल गर्दै आएका थिए ।  
बेल्बासे सहित ४ जनालाई जिल्ला अदालत काठमाडौँले अपहरण तथा शरीर बन्धक र संगठित अपराधको अभियोगमा २०७० साउन १० गतेको फैसलाले २७ महिना जेल सजाय सुनाएको थियो । जेल सजाय काटेर उनी २०७२ भाद्र २७ गते छुटेका थिए । निजले आफुलाई नव आवज प्रा.लि.को अध्यक्ष हुँ भनि विभिन्न व्यक्तिहरुसंग परिचय गरी फोन नम्बर लिई सहज पहुँच गर्न, हुन सक्ने व्यवसायीहरुको चयन गरी निजहरुलाई फोनबाट धम्क्याउने तथा चिठी पठाई रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    
प्रहरीले बेल्बासेबाट धम्की दिन प्रयोग गरेको सिम कार्डहरु, अलकायदा विश्व संगठन (दक्षिण एशिया,नेपाल) को नाममा १३ लाख सहयोग भन्ने व्यहोरा लेखेको पत्र , विभिन्न सशस्त्र समूहका नाममा चन्दा मागेको तथा बैठक बसेको भन्ने पत्रहरु, दिपेन्द्र खड्गीको नाममा जारी भएको नागरिकता, नगद १ लाख ५० हजार र विभिन्न व्यक्तिहरुको विभिन्न साईजको रंगिन फोटो ९ थान समेत बरामद गरेको छ । 
उनलाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

अन्य समाचारहरु