प्रेम खड्का — फोटो फिचर
पत्थरकोट (अर्घाखाँचीडट्कम) । १२, १५ वर्ष अघिसम्म अर्घाखाँचीबासीको समेत २४ सैँ घन्टा चहलपहल हुने अर्घाखाँची प्रवेशको मुख्य द्वार भनेर चिनिने कपिलवस्तुको पत्थरकोट बजार अहिले सुनसान छ ।
अर्घाखाँचीबासीको उपभोग्य वस्तु आयात-निर्यातको मुख्य केन्द्र पत्थरकोट बजार ग्रामीण सडक विस्तारपछि ओझेलमा परेको हो । अहिले पत्थरकोट पुरानो व्यापारिक संरचना परिवर्तन हुँदै आवासमा परिणत भएको छ ।
सन्धिखर्क जोड्ने मुख्य सडक विस्तारसँगै १०, १२ वर्षदेखि पत्थरकोट बजारको अस्तित्व मेटिँदै गएको छ । पक्की सडक विस्तार हुनुअघि गोरुसिंगेबाट पत्थरकोटसम्म यातायातका साधनबाट आउने गर्थे । त्यहाँबाट अर्को बसमा चढेर अर्घाखाँचीलगायतका जिल्लामा यात्रुहरू जाने गर्थे । तर सन्धिखर्कसम्मै पक्की सडक निर्माण भएपछि गोरुसिंगेबाट यात्रुहरू सीधै सन्धिखर्क जान थालेपछि पत्थकोटमा चहलपहल घटेको छ । कुनैवेला जिल्लाको व्यापारिक केन्द्रका रूपमा रहेको सो क्षेत्रमा व्यापार हुन छाडेपछि बसाइँ सर्नेको भीड लागेको छ । जसले गर्दा पत्थरकोट बजार अचेल सुनसान रहने गरेको छ ।
उता सुनसान पत्थरकोटका ठूला व्यापारी विस्थापित भएका छन् भने साना व्यापारी मात्र उक्त ठाउँ रुँघेर बसिरहेका छन् । समयसँगै जिल्लाका अन्य सहर-बजार विकसित भए र सेवा सुविधाको पनि विस्तार भयो । तर, पत्थरकोट बजार भने त्यसको ठीक उल्टो गतिमा हिँडिरहेको छ । बिहान आएको व्यापारी साँझसम्म पनि भारी हाल्न व्यस्त हुन्थे, अहिले यो बजारको व्यापार सुकेको मात्रै छैन सुनसानसमेत भएको छ ।
यसअघि ठूलो सहरको आकार लिँदै गरेको पत्थरकोटमा ठूला पसल मात्रै तीन सयभन्दा बढी थिए । साना पसलको त गन्ती नै थिएन । तर, हिजोआज साना पसलको संख्या गन्दा पनि मुस्किलले ५० पु-याउन सकिन्छ । बजार विस्थावित भएसँगै धेरै स्थानीय बासिन्दाले पाएको रोजगारी पनि गुमेपछि युवा रोजगारीका लागि पलायन भएका छन् । सडक सञ्जालको विकाससँगै अरू ठाउँमा बजार थपिँदै गए, व्यापारी पनि नाफा कमाउन अन्यत्र सर्दै गएपछि पत्थकोट ओझेलमा पर्दै गएको हो ।