भारतको ओडिसास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिएका छन् ।
घटनास्थलबाट प्रहरीले ठूलो संख्यामा हतियार तथा गोलाबारुद बरामद गरेको छ । आज बिहान ६ बजे कियासिर बेगानगी जंगलमा भएको मूठभेडमा उनीहरु मारिएका हुन् ।
माओवादीविरुद्ध आन्ध्रप्रदेश पुलिसको विशेष फोर्स र ओडिसा पुलिसले संयुक्त कारबाही गरेको हो ।
घटनास्थलबाट प्रहरीले चार थान एके-फोर्टि-सेभेन राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद गरेको छ ।
प्रहरीको कारबाहीमा कयौं माओवादी लडाकु घाइते भएको अनुमान प्रहरीले गरेको छ । कारबाहीपछि सुरक्षाकर्मीले जंगललाई घेराउ हालेका छन् । त्यहाँ थप सुरक्षाकर्मी मगाइएको छ ।
ओडिसाको मनकानगिरी इलाका छत्तीसगढ र आन्ध्रप्रदेशसँग जोडिएको छ । सो क्षेत्रलाई भारतीय माओवादीको गढ मानिन्छ । (एजेन्सी)