अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट पार्टीकी उम्मेदवार तथा आफ्ना निकटतम प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई हराउँदै विश्वकै शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० भन्दा बढी इलेक्टोरल मत प्राप्त गर्दै ट्रम्प विजयी भएका हुन् ।
निर्वाचन अघिसम्म हिलारीले ट्रपलाई अग्रता लिनसक्ने अमेरिकी सञ्चारमाध्यमहरुले नै मत सर्भेक्षणहरु सार्वजनिक गरिरहेका भएपनि परिणाममा भने ट्रम्पले बाजी मारेका हुन् ।
डेमोक्रेट र रिपब्लिकनको गढ मानिएका राज्यहरुमा दुबैले आफ्ना पकड कायमै राखेपनि दुबै पार्टीमा नखुलेका तर निर्वाचनमा निर्णायक मानिएका राज्यहरुमा भने यस पटक ट्रम्पले बाजी मार्दा हिलारीले हार ब्यहोरिन् ।
मूख्यगरी फ्लोरिडा, पेन्सलभेनिया, ओहायो, नर्थ क्यारोलाइना, आयोवा जस्ता राज्य आफ्नो पक्षमा पार्न नसक्दा हिलारीले हार स्वीकार्नु परेको हो । जबकी अघिल्लो पटक डेमोक्रेटले ह्वाइहाउसमा शासनमा निरन्तरता पाउँदा फ्लोरिडा, पेन्सलभेनिया जस्ता ब्याटलग्राउण्ड राज्यको समर्थन पाएको थियो ।
यसपटक यिनै राज्यको समर्थन गुम्दा डेमोक्रेट उम्मेदवार तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले ह्वाइटहाउसमा पुग्ने सपना त्याग्नु परेको हो भने गैरराजनीतिक पृष्ठभूमिबाट आएर पनि ट्रम्पले ह्वाइटहाउसमा चारवर्षका लागि राज गर्ने साँचो हत्याउन सफल भए ।
परिणाम आफ्नो हातबाट फुत्किएपछि हार स्वीकार्दै क्लिन्टनले ट्रम्पलाई फोन गरी बधाई दिएकी छन् । (एजेन्सी)