जाजरकोटको विकट भगवती ८ का १२ वर्षीय प्रेम सिंहले हात भाँचिएको करिब एक महिनापछि उपचार पाएका छन् ।
काकाको बारी जोत्दै गर्दा गोरुले लात्ताले हानेर देब्रे हात भाँचिएपछि उनी घरमै थलिएर बसेका थिए । उपचार खर्च नहुँदा पीडा सहेर बस्न बाध्य थिए । उनको गाउँ डोल्पा जिल्लासँग जोडिएको र सहज रुपमा उपचार गर्न पाउने अवस्था नभएपछि उनी उपचारबाट वञ्चित थिए ।
उपचार गर्ने खर्च थिएन, उनका भिनाजु लक्ष्मण सिंहले भने, समयमै उपचार नगर्दा भांचिएको हात बांगो भयो । उनले जिल्लाकै पत्रकार हेमन्त केसीले यो अवस्था सञ्चार माध्यममा ल्याएपछि भरतपुर आएर उपचार गर्न पाएको बताए । उनको आमाबाबु छैनन् । आमा रुपसरीको ०६३ भदौमा झाडावान्ताका कारण मृत्यु भएको थियो । दम रोगी रहेका बाबु तीलबहादुरको ०६७ माघमा मृत्युभएपछि उनी टुहुरो बने । खान लाउनै समस्या थियो ।
उनका ४ दाजु भाई र ४ दिदी बहिनी छन् । कामको खोजीमा भारत पुगेका जेठो दाइको उतै मृत्यु भएको थियो भने माइलो घरमा छन् । साइलो दाइको अत्तोपत्तो छैन । न्यून आयस्तरको परिवार भएकाले उनी कहिले दाइकोमा त कहिले काकाकोमा बस्दै आएका थिए । त्यही काम गरेर पढ्न जान्थे । स्थानीय भगवति निम्न माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गरी रहेका उनी हात भाँचिएदेखि विद्यालय जान पाएका छैनन् ।
परिवारमा साँझबिहान छाक जुटाउन समस्या छ, सालोलाई पढाउन सक्ने अवस्था छैन, लक्ष्मणले भने, घरमा बसेर पढ्न सक्ने आर्थिक अवस्था छैन ।
उनले उपचार गर्न मन भएपनि खर्च नहुँदा यत्तिका समयसम्म अस्पताल पुर्याउन नसकिएको दु:खेसो पोखे ।
लक्ष्मणको घर खगेनकोट ९ स्थित भईगाउँ हो । यो गाउंबाट प्रेमको गाउँ पुग्न एक दिन लाग्छ । जिल्ला अस्पतालमा बुझ्दा सुरुमै ल्याएको भए ३/४ हजारमा उपचार हुन्थ्यो, ढिलो भएकाले बाहिर गएर उपचार गर्न ९० हजार लाग्छ भने, उनी भन्छन, यो गरिबले कताबाट ल्याउनु त्यत्रो पैसा, सालोको हात हेर्दै रुदैं बस्नु भन्दा अर्को उपाय थिएन ।
यो अवस्था बारे थाहा पाएर चितवनका पत्रकार विनोदबाबु रिजालले बोलाएपछि ऋण गरेर उपचार गर्न यहाँ आएका हुन् । सदरमुकाम आउन एक दिन लाग्यो भने १ हजार ५ सय खर्च भयो ।
६ हजार ऋण लिएर आएको सबै सकियो, ३ दिन लगाएर यहाँ आईपुगेका उनले भने, सबैको सहयोग पाएको छु, सालो ठिक हुने आशामा छु । प्रेमको भरतपुरस्थित अलाईभ अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
हातको २ वटा हड्डी भाँचिएको रहेछ, अस्पताल प्रमुख हाडजोर्नी रोग विशेषज्ञ प्रमोद लामिछानेले भने, शल्यक्रिया राम्रो भएको छ, सबै उपचार नि:शुल्क गर्नेछौं । उनले अप्रेशनपछि बाँगिएको हात सिधा हुने बताए । प्रेमले ठिक भएपछि राम्रोसंग पढ्ने बताए ।
कान्तिपुरबाट