बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरे

बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार बोलिभियाको रेयसमा चार वर्षकी एक बालिका केही दिनअघि बेपत्ता भएकी थिइन् । गत साता उनको शव फेला परेको थियो ।
प्रहरीले ती बालिकाको बलात्कार र हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको थियो । आक्रोसित स्थानीयले प्रहरी कार्यालयमै आक्रमण गरी ती व्यक्तिलाई नियन्त्रणमा लिए ।
भीडले उनलाई कुटपिट गर्नुका साथै सडकमा निकैबेर घिसारेको थियो । त्यसपछि उनलाई सार्वजनिक स्थलमा झुण्ड्याइएको थियो ।
आक्रोसित भीडको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई सर्वसाधारणले दिएको सजायबारे एक भिडियो सामाजिक संजालमा पोस्ट गरिएको थियो । उक्त भिडियोसमेत निकै भाइरल बनेको छ ।
प्रहरीले उनको हत्याका सम्बन्धमा कसैलाई गिरफ्तार गरेको छैन । प्रहरी अधिकारीहरु उनको हत्या भएको भिडियोको अनुसन्धान भइरहेको बताउँछन् । (एजेन्सी)