पणेना सिम्ले गाउँका महिला कृषक । फाइल तस्बिर
वीरेन्द्र केसी
पोखराथोक, अर्घाखाँची । पोखराथोक र पणेनाको सिम्लेमा अहिलेसम्मकै धेरै सुन्तला फलेको छ । बोटमा लटरम्मै दानाले हाँगा भुइँमा लत्रिएका छन् । टेका लगाउनुपरेको छ । दाना ठूला पनि छन् । यति बाक्लो सुन्तला फलेपछि गाउँले दंग छन् । समयअगावै पहेंलो भएको छ । अघिल्ला वर्षहरूमा पुसको दोस्रो साता पहेंलो देखिने दाना अहिले मंसिर सुरु हुनै लाग्दा बोटभरि पहेंलपुर भएको छ । ‘यस्तो बाक्लो दाना हालसम्म लागेको थिएन,’ पोखराथोकका कृषक अच्युत गौतमले भने, ठूला र धेरै दानाले बाटोका हाँगा लत्रिएका छन् । टेका लगाएर धानेका छौ । यसपालि आम्दानी राम्रै हात लाग्ने संकेत छ । कृषकमा खुसियाली छाएको छ ।
बेलैमा पानी पर्यो । असिना पनि आएन । रोग लागेन । अन्न उब्जनी हुने बारी नै मासेर सुन्तला खेती गरेकाले कृषकले बोटमा राम्रै मलजल गरेका थिए । अघिल्लो वर्षमा एक क्विन्टल फल्ने बोटमा अहिले तेब्बर फलेकोमा पणेनाकी तुलसा पौडेललाई खुसीको सीमै छैन । बोटमा ठूला दाना ४ सय ग्रामसम्मको फलेको छ । ‘गत वर्ष असिना र रोगले त्यति धेरै फलेन’ उनले भनिन्, ‘अहिले त लटरम्मै फल्यो । सुन्तलाको दुश्मन असिना र रोग हो । त्यो नभएपछि राम्रै फल्दो रहेछ । बेलाबेलामा पानी परिरहेको थियो ।’ अघिल्लो वर्ष भएको घाटा यसपालि उठ्ने आशाले उनी हर्षित छिन् । परम्परादेखि सुन्तला हुने क्षेत्र भए पनि तीन दशकयता खेतबारी मासेरै सुन्तला लगाएका थिए ।
सुन्तलाको बोटमुनि तरकारी, बेसार, अदुवा खेती गरेर दोहोरो फाइदा पनि लिएका छन् । ‘मुख्य बाली नै सुन्तला खेती हो,’ उनले भनिन, ‘बर्सेनि विस्तार गरिरहेका छौं । पहिले बारीको छेउ, त्यसपछि पूरै बारी र अहिले खर्यानमा समेत बोट लगाएका छु ।’ खर्यानमा फल्न सुरु गरेका छन् । यहाँका करिब दुई सय कृषले व्यावसायिक सुन्तला खेती गर्दै छन् । वर्षमा सुन्तलाबाटै ८० हजारदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक भएको शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष रेवतीराज पौडेलले बताए ।
पणेनाका ७२ वर्षका हुमनाथ पौडेल । फाइल तस्बिर
अघिल्लो वर्षहरूमा सुन्तलाबाट सिंगो गाउँमा वर्षमा दुई करोड रुपैयाँको हाराहारीमा आम्दानी भित्रिएको थियो । १२ सय बोटमध्ये नौ सय बोटमा दाना लटरम्मै छन् । ‘कसरी दाना ठूला फल्छन् भनेर कम्पोस्ट मल बोटमा राख्छौं, हिउँदमा सिँचाइ गर्छौं,’ उनले भने, ‘दु:ख गरेर गरेजस्तै भयो । धेरै र ठूला दानाले आम्दानी बढायो ।’ यसपालि सात लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । विदेश जाने भिसा रद्द गरेर उनले दस वर्षदेखि कृषिमा लागेका छन् ।
यहाँ घरैपिच्छे सुन्तला कृषक छन् । ‘सुन्तला बेच्नुलाई खासै नौलो मानिदैन,’ अर्का कृषक चिरञ्जीवी पौडेलले भने, ‘कसको बोटमा धेरै फल्यो र दाना कति ठूला छन् भनेर लेखाजोखा हुन्छ ।’ बोटै किन्न आउने व्यापारीले जुन बोटमा ठूला दाना छन् त्यही किन्न रुचाउँछन् ।
बगैंचाभित्र गएपछि खरिद गर्न आएका ग्राहकले राजेरै किन्छन् । त्यसैले ठूला दाना फल्ने गरी बोटको संरक्षण, मलजल र स्याहार-सुसार गर्छन् । ‘राम्ररी आहारा पुगेको बोटमा लटरम्मै फल्छन्,’ उनले भने, ‘धेरै आम्दानी पनि त्यसमै हुन्छ । रोग र असिनाको सधैं डर हन्थ्यो । पानी पनि परेकाले दाना राम्रो लाग्यो ।’ अहिलेसम्मै राम्रो फलेकाले आम्दानी तेब्बर हुने उनले बताए । अघिल्लो वर्ष डेढ लाख आम्दानी भएको थियो । एउटा बोटमा हाँगैपिच्छे टेका लगाउनुपरेको छ ।
यहाँबाट बोटमै खरिद गरेर बुटवल, पाल्पा, पोखरा, कपिलवस्तु, काठमाडौं लगायतका सहरमा निर्यात भएको छ ।
पणेनाका टीकाराम पौडेलको घरमा सुन्तलाको दाना ।