अर्घाखाँचीको सन्धिखर्कमा मात्र आन्दोलन भइरहेका बेला गाउँ-गाउँमा समेत विरोध प्रदर्शन शुरु
मंसिर १९ गते, २०७३ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको बजार क्षेत्रमा आन्दोलन भइरहेका बेला अर्घाखाँचीका गाउँ-गाउँमा समेत विरोध प्रदर्शन शुरु भएको छ ।
दुई दिन देखि गाउँका सर्वसाधारणले ५ नम्बर प्रदेश टुक्राएको विरोधमा प्रदर्शन गरेका छन् । साता दिन देखि सदरमुकाममा विरोध छ । आइतवार पनि पुरै जिल्ला ठप्प भयो । गाउँमा सर्वसाधारणले नाराबाजी गर्दै प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
अर्घाखाँचीको ठाडा, बल्कोट, अर्घातोष, मरेङ लगायतका गाउँमा नाराबाजी गर्दै प्रदेश टुक्राएकोमा विरोध भएको एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरेले बताए । ‘गाउँबाट सर्वसाधारण स्वतपूर्त विरोधमा उत्रिएका छन,’ उनले भने, ‘पहाड तराईलाई टुक्राएको विरोधमा पाटी विशेष भन्दा माथि उठेर सर्वसाधारण विरोधमा उत्रिए ।’ गाउँ स्तरबाट नागरिक विरोधमा उत्रिएपछि आन्दोलनलाई थप सशक्त बनाउन बल पुगेको उनले बताए ।
बल्कोटमा प्रदर्शन
सोमबार सन्धिखर्कमा बृहत जनसभा गर्न तयारी भइरहेको छ । विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटने संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले बताए ।
सभालाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांगेस केन्द्रिय सदस्य पुष्पा भुसाल, पूर्वकेन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल लगायत एमालेका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभापछि आन्दोलन थप सशक्त हुने नेताहरुले बताएका छन् ।