म चाहन्छु


-राजिब बेल्बासे
एकफेर फेरी फूलको कोपिला बनि फुलेर रमाउन
पूर्णिमाको रातमा घण्टौ जून हेरि खुल्ला चौरमा पल्टिन
अनि रुझ्दै पहिलो झरिमा त्यो माटोको सुगन्धमा हराउन।
म चाहन्छु,
सँगै स्कूल पढेका दौतरीहरुलाई भेटेर पुराना याद ताजा बनाउन
बाँसको सुपिलोले बनाएको फिरफिरे नचाउदै बेमत्लबले बाटोमा कुद्न
बारीको बीचमा आगो बालेर ‘चक्रासे बेली’ खेल्न
अनि कांई, रेडी, राज्जे र आठ काठ खेल्न।
म चाहन्छु,
काठको ३ पाङ्ग्रे गाडामा गिठाको मोबिल राखी कुदाउन
काली खैनिको बट्टामा गुच्छाहरु जम्मा पारी बाजाउदै हिड्न
मुन्टो बाङ्गो बनाउदै पधेरोबाट डोकोमा पानी बोक्न
अनि मोजाको फुटबल खेलाउदै-खेलाउदै स्कुल जान
म चाहन्छु,
जंगलको बिचमा दाउरा काट्दै लोकगीत मार्फत मनको बह मेटाउन
स्कूल पढ्दा उनले दिएको चिनो कुसुमे रुमाल खोज्न
उनले पहिलोपल्ट छुदा भएको फरक तरंग महसूस गर्न
अनि मेरो बाल्यकाल , त्यसमा भएको स्वतन्त्रता र पागलपनमा हराउन।