फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन भीषण आँधी आउनसक्ने सरकारले चेतावनी

फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन शनिबार भीषण आँधी आउनसक्ने सरकारले चेतावनी दिएको छ ।
आँधी ल्याउने हावा प्रतिघन्टा २२२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ ।
आँधीले आउदो सोमबार लुजोन टापु र मनिलालाईसमेत असर पार्नसक्ने पूर्वानुमान गरिएको छ ।
सरकारी निकायका एक प्रवक्ता रचेल मिरान्दाले भने- आँधी आउने सम्भावना भएकाले त्यसबाट बच्ने उपाय अप्नाउन हामीले स्थानीय सरकारलाई सुझाव दिएका छौं ।
हजारौं नागरिकहरुलाई क्रिसमस सकिएपछि घर फर्कने व्यवस्था गर्न पनि भनिएको उनले बताए ।
विकोल क्षेत्रका नागरिक रक्षा प्रमुख केड्रिक डाइपले कम्तीमा पनि चार लाख मानिसलाई त्यस क्षेत्रबाट अन्यत्र सार्नुपर्ने बताए ।
अहिलेकै अवस्थामा सबै विस्थापितहरुलाई खाने-बस्ने व्यवस्था गर्न सकिने अवस्था छैन- उनले भने- साथी र नातेदारको सहयोग लिन हामीले आह्वान गरेका छौं ।
चेतावनी दिइएको क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानतर्फ सार्नका लागि आवश्यक सवारी-साधन उपलब्ध गराउन अन्य सरकारका निकायहरुलाई पनि आग्रह गरिएको उनले जानकारी दिए । रासस/सिन्ह्वा