अर्घाखाँची डट्कमको समाचार प्रभाव, बल्कोट-४ मा बाटो निर्माण कार्य सम्पन्न, स्थानीयमा खुसियाली

बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । गत हप्ता अवरोध भई खन्न नसकिएको बल्कोट गाविस वडा नं. ४ दुन्द्रुक डाँडापोखरा देखि टुनिपोखरासम्मको बाटोको पहिलो खण्ड डाँडापोखरा – धैरेनी सम्मको बाटो आज सम्पन्न भएको छ ।
गत हप्ता पौष ७ गते अर्घाखाँची डट्कमले मोटरबाटो निर्माण कार्यमा अबरोध गरेको विषयमा समाचार प्रकासित गरेको थियो । सो समाचार आए लगतै अवरोध हटाई पुन: बाटो खन्ने काम सुचारु भएको थियो ।  
स्थानीय समाजसेवीहरु, जग्गाधनी तथा राजनैतिक दलका प्रतिनिधिको रोहवरमा उक्त बाटो खनिएको हो । उक्त बाटो नहुदाँ करिव २५ घरपरिवार र १२० जति जनसंख्या रहेको पाण्डेटोलाबासीलाई विरामी पर्दा, विहेवर्तन, पुजाआजा लगाएतका कार्यहरुका लागि आउनजान तथा बारी खनजोत गर्न समेत ट्याक्टर लैजान समस्या परेको थियो ।
गाउँठाउँमा बाटो पुर्याएपछि आवतजावतमा समस्या नहुने, विभिन्न कारणले गर्दा यूवायूवतीहरु गाँउमा नबस्ने, कोही विरामी परिहाले विरामी पर्दा विरामीलाई छिटो अस्पताल पुर्याउन नसकिने कारणले मृत्यू समेत हुन सक्ने जोखिम कम हुने तथा अन्य विकास निर्माणको काम लाई पनि सहज हुने कारणले गाँउ गाँउमा बाटो पुर्याउनु  अनिवार्य रहेको पाण्डेटोलाका जग्गाधनी मध्येकै कृष्णराज पाण्डेले बताउछन् । 
उनले भने विकास निर्माण गर्दा कम क्षतिमा वातावरणमैत्री बनाउन सके दिगो हुने साथै विकास निर्माण कार्यमा अवरोध गर्दा गा.वि.स. जिल्ला साथै देश नै पछि पर्न सक्ने भएकाले मोटरबाटो, खानेपानी, पुलपुलेसा आदिको निर्माणमा कसैले अवरोध गर्न नहुने यदि भईहाले अवरोधको बावजुत सवै एक भई लाग्नुपर्ने जरुरी रहेको बताए ।
डाँडापोखरा देखि धैरिनी पहिलो खण्ड, धैरेनी देखि नेपालीटोला सम्म दोस्रो र नेपालीटोला देखि टुनिपोखरा सम्मको तेस्रो खण्ड मध्ये टुनीपोखरा तिरबाट नेपाली टोलासम्मको बाटो खन्ने कार्य यही वर्ष  सम्पन्न भएको छ । धैरेनी देखि नेपालीटोला सम्म बाटो पुर्याएपछि पाण्डेटोला , नेपालीटोला हुदै टुनिपोखरा जाने मूलबाटोले वार्ड नं. ४ का  ८० प्रतिशत जनता लाभान्वित  हुनेछन् ।
डाँडापोखरा देखि टुनिपोखरासम्मको बाटो अन्तर्गत उक्त खण्ड निर्माणका लागि आ.व. २०७३(०७४ मा जिल्ला विकास समितिबाट रु. ५०,०००।०० रकम स्वीकृत भएको थियो । साथै उक्त बाटो निर्माणका लागि स्थानीयहरुले जनश्रमदान समेत गरेका छन् ।

अन्य समाचारहरु