महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलियाको पुगेका हाँस्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अष्ट्रेलियाको मेलबर्नबाट १९ लाख सहयोग रकम मिलेको छ।
आईतबार साँझ भएको कार्यक्रम र सोमबार, मंगलबार बिभिन्न ब्यक्तिहरुले दिएको आर्थिक सहयोगसहित उनीहरुले मेलवर्नबाट उत्त रकम संकलन गरेका हुन्।
सिड्नीमा १७ लाख नेपाली सहयोग रकम संकलन गरेका धुर्मुस सुन्तलीले आईतबार धुर्मुस सुन्तली साँझसहित मेलवर्नका बिभिन्न सहयोगी हातहरुबाट २३ हजार १ सय ३ अष्ट्रेलियन डलर (नेपाली अनुमानित १९ लाख ६३ हजार ७ सय ५५ रूपैया) सहयोग संकलन गरेका हुन्।
कार्यक्रममा धुर्मुस सुन्तलीको विशेष प्रस्तुती रहेको थियो भने अन्य कलाकारहरुले पनि प्रस्तुती दिएका थिए।
मेलवर्न कार्यक्रमका आयोजक कृष्ण न्यौपाने सहित प्रायोजक, मेलवर्नमा रहेका नेपाली समुदाय र नेपाली मुलका भुटानी समुदायका सहयोगी मनहरुलाई धन्यवाद दिदै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले थप सहयोग गर्न पनि आग्रह गरेका छन्।
आजै परेको सरस्वती पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिदै उनले सहयोग गर्न चाहनेलाई आयोजक कृष्ण प्रसाद न्यौपानेलाई सम्पर्क गर्न पनि आग्रह गरेका हुन्।
यसअघि धुर्मुस सुन्तलीले अष्ट्रेलियाको एडिलेटमा सम्पन्न भएको कार्यक्रमबाट १४ हजार ६ सय ५६ अष्ट्रेलियन डलर (नेपाली १२ लाख ४५ हजार ७ सय ६० रुपैया) सहयोग रकम संकलन गरेका थिए भने सिड्नीबाट १७ लाख नेपाली सहयोग रकम संकलन गरेका थिए। विनाशकारी भूकम्पपछि भूकम्पपीडितका भगवान मानिएका धुर्मुस सुन्तलीले निर्माण गरिरहेका एकीकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको बताईएको छ।
अहिले बस्तीमा निर्माणाधिन घरहरुको भित्ता उठाउने काम सुरु भएको छ। हामीले लगातार काम गरिरहेका छौ नमुना मुसहर बस्ती परियोजनाका ब्यबस्थापक अर्जुन न्यौपानेले भने यहि गतिमा काम भए तोकिएकै समयमा बस्ती निर्माण हुनेछ ।
भूकम्पपीडितका लागि २ वटा बस्ती निर्माण गरिसकेका धुर्मुस सुन्तलीको यो तेस्रो बस्ती हो । उक्त बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनले ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान गरेको छ । जसको लागि सहयोग संकलन गर्न धुर्मुस सुन्तली अष्ट्रेलिया पुगेका हुन्।
अझै थुप्रै सहयोग संकलन गर्न बाँकि छ, कट्टेलले भने, अष्ट्रेलियाको यो सहयोगले अझै उत्साहित बनाएको छ। महोत्तरीको बर्दिबासमा बन्न लागेको मुसहर बस्तिमा ५० घर, एउटा सामुदायिक भवन, एउटा मन्दिर, बाल उध्यान, सार्वजनिक धारा, शौचालय, पार्किङ्स्थल र बस्तिलाई वरिपरिबाट कम्पाउन्डले घेरी भित्रको बाटो कालोपत्रे समेत गरिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए ।
सेतोपाटी