अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक दम्पतीको रुपन्देहीमा भएको सवारी दुर्घट्नामा मृत्यु

बुटवल ( अर्घाखाँचीडट्कम) । पूर्वपश्चिम राजमार्गअन्तर्गत् रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलबार भएको सवारी दुर्घट्नामा अर्घाखाँचीको मालारानी गाउँपालिका स्थित हंसपुरका एक दम्पतीको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड –  ७ हंसपुर (साविक: हंसपुर – ७ बाम्रुक)  घर भै हाल रुपन्देही  मुर्गीयामा बसोबास गर्दै आएका ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमला खनालको मृत्यु भएको हो । 
लु९प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु१ज २२३० नम्बरको माइक्रोबसले सैनामैना-२ झारगैरामा ठक्कर दिँदा खनाल दम्पतीको ज्यान गएको हो ।  खनाल दम्पतीका एक छोरा, छोरी र बुवा आमा छन् । 
यस्तै दुर्घटनामा दुईजना घाइते भएका छन् । सोही माइक्रोबसले एक साइकललाईसमेत ठक्कर दिँदा दुईजना घाइते भएका छन् । ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उनकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।
बाटो मोड्नेक्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारकाक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको थियो ।  ठक्कर दिने माइक्रोबस प्रहरीको नियन्त्रणमा छ ।

अन्य समाचारहरु