– कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क
संसारमा लाख विकार रैछ
दुष्कर्म वा द्वेष अपार रैछ
रोजै छ हिंसा अनि मारमुङ्री
सङ्कीर्णताको तरवार रैछ
जैलेसुकै अग्र छ लाभहानी
नाता र सम्बन्ध पुछार रैछ
संहारमै मस्त छ शक्तिशालि
सोचाइमा नाश बिगार रैछ
सर्वत्र देखिन्छ अधर्म मात्रै
अश्लीलताको भरमार रैछ
हेर्दा छ राम्रो मनमा छ कालो
कप्टी तथा क्रूर विचार रैछ
समृद्धिवाला बरु हुन्छ लोभी
कङ्गाल ठूलो दिलदार रैछ
पीडा दिए दुष्कर चिन्तनाले
मान्छेहरू भित्र सतार रैछ
सच्चाइको रै’नछ भाउ काहीँ
दुर्भावले ग्रस्त बजार रैछ
विद्वानले पाउँछ रोज गाली
यो दुर्दशाको घरबार रैछ
सच्चिन्छ गल्ती र कलङ्क चाँडै
दुर्वृत्त छोप्ने धनसार रैछ
टाढिन्छ आफन्त नि द्रोह गर्दै
निष्कर्ष सारा उपहार रैछ
बन्दैन केही बिनु चाकडीले
सामन्तको सोच उभार रैछ
वैरी बनायो प्रिय दाजुभाइ
सम्पत्ति त्यो दुष्ट कुठार रैछ
हानी पुर्याएर खुसी छ साथी
मौका मिले धूर्त तुषार रैछ
सोझो सधैं पर्दछ खाडलैमा
के तर्न सक्थ्यो र जँघार रैछ
निष्ठा कसैमा पनि छैन बाँकी
दुर्गन्धले व्याप्त निखार रैछ
हुर्किन्न कैले सुकुमार पौधा
बाँझो तथा निर्मम टार रैछ
पाइन्न नि:स्वार्थ,पवित्र माया
आत्मीयता केवल झार रैछ
सास्ती भयो आतप खप्नु पर्दा
सुक्खा तथा जर्जर थार रैछ
माया गरे झैं छ प्रवृत्ति खोटो
आन्द्राभुँडी झिक्छ हुँडार रैछ
छोपिन्छ याँ दुर्गुण जिन्दगीको
चर्को समस्या चिरफार रैछ
कोही छ सम्पन्न विपन्न कोही
जे जे छ सम्पूर्ण निधार रैछ
देख्दै बगे आँसु बलिन्द्रधारा
सन्देहले पूर्ण करार रैछ
त्यागौं सबै दुर्व्यवहार हामी
सद्प्रेम नै आज किनार रैछ
बाँचौं सधैं ‘कोमल’ भावनाले
ब्रह्माण्डमा उच्च पियार रैछ
(इन्द्रवज्रा छन्द)