अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवस मनाइएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले क्षयरोगको न्यूनिकरणका लागि प्रयाप्त चेतना अभिवृद्धि गर्नुपर्नेमा जोडि दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका क्षय-कुष्ट अधिकृत शभ्मुलाल कर्णले क्षयरोग सरुवा रोग भएकाले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्ने बताए । उनले क्षयरोग लाग्नासाथ स्वास्थ्य संस्थामा गएर उपचार गरेमा यसबाट थप समस्या नहुने बताए । कर्णले जिल्लामा ७२ जना क्षयरोगीका बिरामीले उपचार सेवा लिइरहेको जानकारी दिए ।
५४ पुरुष र १८ महिला मध्ये पाँच जना बालबालिकालाई पनि क्षयरोगको संक्रमण रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगन्नाथ तिवारीले क्षयरोग भएका बिरामीलाई स्वास्थ्य संस्था सम्म पु-याउन सहयोग गर्नु पर्ने बताए ।
‘समयमा उपचार नपाएर बिरामीले थप समस्या बेहोर्नु परेको छ’ उनले भने, ‘बिरामीको स्यहार सुसारमा परिवारले विशेष ध्यान दिनुपर्छ ।’ उनले जिल्लाका अधिकांश विरामीले स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गरिरहेको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कर्यालयका नासु मदन भट्टराई, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राखेका थिए ।