अफगानिस्तानको विभिन्न प्रान्तमा सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु

अफगानिस्तानको विभिन्न प्रान्तमा शनिबार साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् ।
अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको आतंकवादविरुद्धको कारबाहीमा ४३ जनाको मृत्यु भएको छ । त्यस्तै, अन्य आठ जना घाइते भएको मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आईएस) समूहका सशस्त्र लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्ला केही हप्तायता अफगानी सुरक्षाकर्मीले विद्रोहीविरुद्धको कारबाहीलाई सशक्त पारेको छ । रासस/सिन्ह्वा