बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमारले सन्न्यास लिने


बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपले आगामी अगष्टपछि राजकीय जिम्मेवारीबाट सन्न्यास लिने भएका छन् ।
बर्किङघम दरबारले बिहीबार घोषणा गरेअनुसार द ड्युक अफ एडिनवर्ग, राजकुमार फिलिप आफैंले यस्तो निर्णय लिएको र त्यसमा महारानी एलिजावेथको समर्थन रहेको छ ।
९६ वर्ष लाग्दै गरेका राजकुमार फिलिप अगष्ट महिनासम्मका पूर्वनिर्धारित् कार्यक्रमहरुमा भने सहभागी हुने दरबारका प्रवक्ताले जनाएका छन् ।
सन् २०१६ मा राजकुमार फिलिपले ११० दिन राजकीय कार्यक्रमहरुमा भाग लिएर राजपरिवारको पाँचौ व्यस्त सदस्य बनेका थिए । उनी ७८० भन्दा बढी संगठनमा आबद्ध छन् ।
खराब स्वास्थ्यका कारण नभइ बढ्दो उमेरका कारण राजकुमार फिलिपले यस्तो निर्णय लिएको जनाइएको छ ।
महारानी एलिजाबेथ र राजकुमार फिलिपले आगामी नोभेम्बरमा विवाहको ७०औं वर्षगाँठ मनाउँदै छन् ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले राजकुमार फिलिपप्रति मुलुकका तर्फबाट आभार व्यक्त गर्दै शुभकामना दिएकी छन् । एजेन्सी