अर्घाखाँचीका चिया पसल, गाउँका चौतारा र चोकहरुमा चुनावी सरगर्मी

राष्टिय जनमोर्चा भूमिकास्थान नगरपालिकाका मेयर उम्मेदवार कबिराम खनाल ( दाँया) तथा उप-मेयर उम्मेदवार सकुन्तला राना एबंम भूमिकास्थान नगरपालिका – ६ का वार्ड अध्यक्ष जिबलाल बन्जाडे लगायत । 

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची ।  फलानो पार्टीबाट फलानो उठ्दै छ रे नि !  त्यो पार्टीको त राम्रो बहुमत छ, फलानो उम्मेद्वार भयो भने त विकास हुन्छ, फलानोको त व्यक्तिगत प्रभाव राम्रो छ ।  अर्घाखाँचीका चिया पसल, चौतारा र चोकहरुमा हिजोआज यस्तै कुरा गुञ्जिन्छन् ।
अर्घाखाँचीमा चुनावी माहोल तात्दै जाँदा राजनीतिक दलहरुले उम्मेद्वरको पनि टुंगो लगाउँदै छन् । अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा  मुख्य तीन पार्टीको प्रतिस्पर्धा हुने देखिन्छ । 
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसलले उम्मेद्वार अझै टुंगो लगाउन सकेको छैन । एमालेले मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा इश्वरा पोख्रेललाई उम्मेद्वार बनाएको छ । माओवादी केन्द्रले मेयरमा ठाकुर विक र उपमेयरमा कमला भुसाललाई उम्मेद्वार बनाएको छ ।  
कांग्रेसले भने टुंगो लगाउन सकेको छैन ।  कांग्रेसबाट मेयरमा कमल प्रसाद भुसाल उठ्ने चर्चा चले पनि टुंगो भने लागिसकेको छैन । २०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो देखिन्छ । सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा धेरै हेरफेर भएकाले यसै भन्न सक्ने अवस्था छैन । 
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ एमालेबाट मेयरमा बसन्त श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेद्वार बन्ने भएका छन् । माओवादीले मेयरमा टिका रेस्मी र उपमेयरमा सीता अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 
कांग्रेसको तर्फबाट सूर्य अधिकारी र  छविलाल पौडेल,  मुख्य दाबेदारका रूपमा अगाडि छन् । नाम भने टुंगिन बाँकी छ । अघिल्ला चुनावको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिए पनि यो नगरपालिकामा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुनेछ । तुलनात्मक रूपमा कांग्रेस राम्रो भएको अनुमान छ । यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो । 
अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ  कांग्रेसबाट खडानन्द बेल्वासे र  प्रेम बेल्वासेको नाम चर्चामा छ ।  एमालेबाट मेयरमा पीताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासे उठ्ने एमालेले निर्णय गरेको छ । 
माओवादीबाट मेयरमा रेशम थापा र उपमेयरमा  छमकुमारी खनाल उठ्ने भएका छन ।  राष्ट्रिय जनमोर्चाबाट मेयरमा  कविराम खनाल र उपमेयरमा शकुन्तला थापा उम्मेद्वार बनेका छन् । 
पणिनी गाँउपालिकामा एमालेबाट अध्यक्षमा जीवनारायण कोइराला र उपाध्यक्षमा लक्ष्मी गौतम, माओवादीवाट अध्यक्षमा जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्ने भएका छन् । 
कांग्रेसले उम्मेद्वारको टुंङ्गो लगाएको छैन । नेपाली कांग्रेसबाट इन्द्रमणि पौडेल,  अच्युत गौतम, श्यामनाथ कास्यप, रामप्रसाद घिमिरे र रमेश खनाल आकांक्षी रहेका छन् । 
छत्रदेव गाँउपालिकामा एमालेबाट अध्यक्षमा ऋषि अधिकारी र उपाध्यक्षमा मनिष पन्थी, माओवादीवाट अध्यक्षमा प्रकाश ज्ञवाली र उपाध्यक्ष शारदा रायमाझी उठ्ने निर्णय भएको छ । कांग्रेसबाट बाबुुराम पौडेल, लेखनाथ पोख्रेल, बिष्णु भुसाल, केसब श्रेष्ठ र अनिता ज्ञवालीको नाम चर्चामा छ । 
मालारानी गाँउपालिकामा एमालेवाट अध्यक्षमा बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षेत्री, माओवादीबाट अध्यक्षमा क्षेत्री उम्मेद्वार बन्ने निर्णय भएको छ । कांग्रेसबाट कृष्ण खनाल र लोकेन्द्र विकको नाम चर्चामा छ । तर निर्णय हुन सकेको छैन । 
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको निर्वाचनमा माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको जिल्ला निर्वाचन अधिकृत महेश पाण्डेले बताउनुभयो ।

अन्य समाचारहरु