मलारानी गाउँपालिका – ५ बाँगी ।
वीरेन्द्र केसी
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिका – ५ बाँगी बाँसटारीका विष्णु कार्की पाँच वर्षदेखि पशुपालन पेसामा छन् । उनको फर्ममा १८ भैंसी र ९ गाई छन् । दैनिक १ सय १० लिटर दूध उत्पादन हुने फर्ममा चार जनाले रोजगारी पाएका छन् । खर्च कटाएर महिनाको ७० हजार रुपैयाँ बचाउने गरेको उनले बताए ।
‘कमाइ राम्रै होला भनेर विदेश गइयो, भनेजस्तो भएन, फर्किएर पशुपालनमा लागेँ,’ उनले भने, ‘उता दु:ख धेरै आम्दानी कम, यता दु:ख भए पनि राम्रै कमाइ छ ।’ उनी रोजगारीका लागि कतार गएका थिए । कार्कीकै देखासिकी गरेर छिमेकीले पनि गाईभैंसी पाल्न थालेका छन् । फर्मसम्मै मोटरबाटो भएकाले दैनिक दूध बिक्री गर्न सदरमुकाम गाडी पठाउन सहज छ । मोटरबाटोले उनलाई पशुपालन गर्न उत्साह थपेको छ ।
खिदिमको दुर्गाफाँटदेखि तानसेनसम्म दैनिक बस र जिप चल्न थालेपछि घरमै दुधालु पशु पालेर कमाउन आकर्षित हुने धेरै भएको कार्कीले बताए । यहाँका कृषकले समूह गठन गरी गाई-भैंसी पालेका छन् । समूहका २२ जनाले दुई वर्षदेखि व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिन सकेका छन् । उनीहरूले दैनिक गाडीबाट पाल्पा तानसेनस्थित डेरीमा ४ सय ५० लिटर दूध पठाउने गरेका छन् । मासिक १५ हजारदेखि ५० हजार रुपैयाँसम्म सजिलै हुने गरेको रामु न्यौपानेले बताए । उनले महिनाको साढे ४ लाख रुपैयाँ दूधबाट भित्रिने गरेको सुनाए ।
दैनिक गाडीको सुविधा भएपछि गाउँ आत्मनिर्भर भएको उनले बताए । दूधको आम्दानीले दुर्गाफाँट गाउँवासीलाई जीवनयापन गर्न सहज बनाएको छ । समूह र व्यक्तिगत गाई-भैंसी पालेर मनग्य आम्दानी गर्ने जिल्लाभर लहर नै चलेको छ । वैदेशिक रोजगारबाट फर्किएका पटौटी नियालीका शंकर घिमिरे गाईपालनमा व्यस्त छन् । उनले भने, ‘दूधबाट वर्षमा घर खर्च कटाएर २ लाख रुपैयाँसम्म बचत गर्न सकिएको छ ।’ वैदेशिक रोजगारीबाट फिरेका १२ जना पनि यही पेसामा लागेका छन् ।
पशु अधिकृत विष्णुप्रसाद पौडेलले दैनिक पाँच हजार लिटर उत्पादित दूध गाउँका समूहमार्फत डेरीमा जाने गरेको बताए । गाउँबाट मोटरसाइकल, साइकलबाट कृषकले बजारमा दूध पुर्याउने गरेका छन् । उनीहरूलाई मोटर बाटोले सजिलो बनाएको हो । हिजोआज गाई-भैंसी पालेर दूध बिक्री गर्ने कृषकको संख्या बर्सेनि बढ्दो छ ।
वैदेशिक रोजगार र अन्य पेसा व्यवसाय छाडेर पशुपालनमा लागेर मनग्य आम्दानी गरेका छन् । पौडेलका अनुसार दूधबाट वर्षमा १ अर्ब ८० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो वर्षभन्दा यसपालि २० प्रतिशतले दूध उत्पादन वृद्धि भएको छ ।