अर्घाखाँची जनप्रतिनिधि चयनपछि विकासमा अघि बढ्ने

वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । अठासी वर्षीय खिमानन्द पोखरेल मतदानको दिन पर्खिरहेका छन् । सन्धिखर्क-१ मा रहेको घरमै भेटिएका उनले भने, मेरो नाम खनदहमा छ । हामी बूढाबूढी नै जान्छौं, भोट दिन्छौं ।
स्थानीय तह पुन:संरचनापछि मालारानी गाउँपालिकामा विलय भएको गाउँ खनदहमा उनी २२ वर्ष प्रधानपञ्च र विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएका हुन् । स्कुल खोल्नुपर्छ, पढ्ने वातावरण बनाउनुपर्छ भन्ने अभियानमा ऊर्जाशील उमेर सिध्याएका उनी २०४६ पछि पनि गाउँमा मन पराइएका अगुवामा पर्थे । द्वन्द्वको दशकपछि उनको गाउँ बस्ने वातावरण भएन । अहिले सन्धिखर्क बस्छन् तर गाउँ गइरहन्छन् ।
पहिलेको व्यवस्थामा योजना परेर बजेटको बाँडफाँडमा किचलो थिएन, बजेटै थोरै हुन्थ्यो, उनले भने, सदरमुकाम जोड्ने बाटो गाउँलेकै श्रमदानबाट बनेको हो । अबका जनप्रतिनिधिले धेरै काम गर्न सक्छन् किनभने पुराना आधार छन् । 
साबिकका ४२ गाविसबाट ३ नगर, ३ गाउँपालिका र ६१ वडा बनेको अर्घाखाँचीमा सदरमुकाम सन्धिखर्कको चुनावी रौनक पनि बेग्लै छ । पूर्वाधार विकाससहितको समृद्धिका एजेन्डा सबैका छन् । २४ हजार ६ सय ४२ मतदाता रहेको सदरमुकाम ३ वर्षअघि मात्रै ७ गाविस गाभेर नगरपालिका घोषित भएको हो । पुन:संरचनाले यहाँ क्षेत्र थपघट भएन तर भएकै भूगोल भने निकै जटिल छ । नरपानीको बाहाखोला बजार क्षेत्रबाट करिब ४० किमि दक्षिणमा छ, जहाँ अझै मोटरबाटो पुगेको छैन । अर्घाको घोरलासीबाट बजार आइपुग्न गाडीमै २ घण्टा लाग्छ । सदरमुकाम र कपिलवस्तु जोड्ने सडक मात्रै कालोपत्रे छ ।
स्थानीय तह पुन:संरचना गरिँदा जिल्लाको भूगोल ख्याल गरिएन, जनसंख्यालाई मात्रै आधार बनाएर संख्या निर्धारण गरियो, सन्धिखर्क- १ का कानुन व्यवसायी जगन्नाथ भुसाल भन्छन्, अबका जनप्रतिनिधिलाई जनताको अपेक्षा पूरा गर्न सजिलो छैन । चुनाव हो, हारजित होला तर जो नेतृत्वमा आए पनि जनअपेक्षा पूरा गर्ने काम अप्ठयारो छ । ७ गाविस गाभेर बनाइएको शीतगंगा नगरपालिकाको एउटा गाउँबाट केन्द्र आउन झन्डै एक दिन हिँड्नुपर्नेजस्तो अवस्था जिल्लाका धेरै ठाउँमा रहेको उनले बताए । आन्तरिक स्रोत भए पनि वडा एकाइमार्फत सेवा प्रवाह सजिलो बनाउँदै लान्थे भन्न सकिन्थ्यो, त्यो पनि छैन, उनले भने, सदरमुकाममै पनि बजार र अलि परका गाउँको पूर्वाधार र सुविधामा धेरै भिन्नता छ । धेरै टोल बस्तीमा मोटरबाटो नपुगेको र स्थानीय निकायको आम्दानी नहुनुको समस्या पनि पछिका लागि जटिल हुने उनको बुझाइ छ । 
स्थानीय ७९ वर्षीय धर्मराज अधिकारी अव्यस्थित बजार र सदरमुकाम छुने राजमार्ग नहुनु जिल्लाकै ठूलो समस्या रहेको बताउँछन् । सन्धिखर्क खासमा कुमालहरूको बसोबास भएको क्षेत्र हो, सरकारी अड्डा, बजार र व्यापारले अन्तबाट बसाइँ आउने भरिए, उनले भने, सहरी सुविधाका दृष्टिले सदरमुकाम नै सक्षम छैन भन्ने हामीले भोगिरहेका छौं, गाउँका कुरा त झन् बिजोग छ ।
साझा समस्या बाटो, खानेपानी र विद्युतीकरणको छ, स्थानीय लीलबहादुर कुमाल भन्छन्, हामी नयाँ व्यवस्थाबाट स्थानीय तहमा चुनिएर आउने प्रतिनिधिले जादूको छडी चलाउलान् भन्ने ठान्दैनौं । आफ्ना ठाउँका लागि मिलेर गर्ने काममा अगुवाइ गरे पुग्छ ।पहिलेदेखि उपभोक्ता समिति वा व्यक्तिगत अगुवाइमा पूर्वाधारका काम भए पनि जनप्रतिनिधिले नेतृत्व लिएको अवस्थाका लागि आशावादी हुनुपर्ने उनले बताए । कुमाल समुदाय पुराना बासिन्दा भए पनि यसपटक महिला सदस्यबाहेक पदमा उम्मेदवारी दिने मौका पाएका छैनन् । सन्धिखर्क-१ बाट महिला सदस्यकी उम्मेदवार सुमित्रा मुखिया भन्छिन्, नेतृत्वमा जाने प्राक्टिसै रोकिएको थियो । अब चुनावले बल्ल अगाडि बढ्न सिकाएको छ । चुनौतीविहीन जिल्ला कुनै पनि नभएको बताउने उनी अर्घाखाँची पनि जनप्रतिनिधि चयनपछि विकासमा अघि बढ्ने तर्क राख्छिन् । जिल्लामा १ लाख २६ हजार ९ सय ९९ मतदाता छन् । ६ स्थानीय तहका ३ सय ३२ पदका लागि ११ सय ४५ जनाको उम्मेदवारी परेको छ ।

अन्य समाचारहरु